१४ वर्षीया बालिकालाइ ३ बाबुछोराबाट तीन वर्षदेखि पालैपालो बलात्कार I

झापा मङ्सिर २७,

घरेलु कामदार राखिएकी नातेदार बालिकालाई तीन बाबुछोराले तीन वर्षदेखि पालैपालो बलात्कार गर्दै आएको खुलेको छ । झापाको शरणामति गाविस–८ मदरगाछ घर भई सदरमुकाम चन्द्रगढी बस्दै आएकी १४ वर्षीया बालिका बाबुछोराबाट तीन वर्षदेखि बलात्काकृत हुँदै आएको खुलेको हो । 

बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले भद्रपुर–१० का ७० वर्षीय भेषराज पोखरेललाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले दिएको जाहेरीका आधारमा पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । घटनामा संलग्न उनका छोरा ४२ वर्षीय खेमराज पोखरेल घटना सार्वजनिक भएलगत्तै फरार भएका छन् । 
सदरमुकामस्थित वीरेन्द्र उच्च मावि कक्षा ६ मा अध्ययन गर्दै आएकी बालिका तीन वर्षअघिदेखि पोखरेलका घरमा बस्दै आएकी थिइन् । आर्थिक अवस्था कम्जोर भएका आमाबाबुले पढाउन नसक्ने भएपछि नातेदार पोखरेलले घरको काम सघाईदिए वापत पढाई दिने शर्तमा बालिका जिम्मा लिएका थिए । सदरमुकामबाट ६० किलोमिटर टाढाको गाउँमा बालिकाका बाबुआमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् । 

पढन बसेकै बर्षदेखि आफूलाई कुटपिट गरी पोखरेल बाबुछोराले यौनदुराचार गर्दै आएको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा बालिका पटक पटक विद्यालयमै बेहोस हुँदै आएकी विद्यालयका प्राचार्य टंक पाण्डेले बताए । बेहोस हुने क्रम बढेपछि सोधीखोजी गर्दा घटना बाहिर आएको उनले बताए । घटना सार्वजनिक भएलगत्तै बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफूमाथि हुँदै आएको अत्याचारको सबै विवरण उनले लिखितरुपमा प्रहरीलाई दिएको प्रहरीले जनाएको छ । 

बालिकाका अनुसार घटना सार्वजनिक गरे पोखरेल बाबुछोराले मारेर फ्याँकिदिने धम्की दिँदै आएका थिए । फरार खेमराजलाई पक्राउ गर्न वीरेन्द्र उच्च माविका विद्यार्थीले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मुकुन्दराज आचार्यले पोखरेलको खोजी भइरहेको जानकारी दिए । 
 (उमाकान्त खानाल-अन्नपूर्ण पोस्ट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com