सुत्केरी हुन नसकेपछि यसो गर्नु पर्यो I

सोलुखुम्बु, ३ पुस ,

सुत्केरी व्यथा लाग्दा समस्या भएपछि मृत्युको नजिक पुगेकी सोताङ–४ निवासी रिमा नेपालीलाई हेलिकोप्टरबाट उद्धार गरी मिसन अस्पताल ओखलढुङ्गा लगेर ज्यान बचाइएको छ । 

व्यथा लागेपछि आज बिहान प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगिएकी नेपालीको अवस्था गम्भीर भएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अहेव श्रीध्वज राईको आग्रहमा प्रजिअ झङ्कनाथ ढकालले हेलिकोप्टर मगाएका थिए । नवजातको हात र सालनाल बाहिर निस्किएको अवस्थामा प्रसूति हुन नसकेपछि मिसन अस्पताल सोताङ लगिएकी नेपालीले जुम्ल्याहा जन्माएकी छन् । 

अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको मिसन अस्पतालले जनाएको छ । पेटमा दुई बच्चा रहेको र सालनाल तथा बच्चाको हात बाहिर रहेको अवस्था अत्यन्तै जटिल रहेको र तत्कालै बच्चा बाहिर निकाल्न नसके आमा र वच्चा दुवैको ज्यान खतरामा हुने भएकाले अन्यत्र लैजान पहल गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अहेब राईले बताए । 

आर्थिक अवस्था कमजोर रहेका जीवन नेपालीकी २५ वर्षीया श्रीमती रिमाको ज्यान जोखिममा भएपछि स्थानीयवासीले केही सहयोग सङ्कलन गरेको भए पनि हेलिकोप्टर मगाउन पर्याप्त थिएन । ज्यानै जोखिममा रहेको जानकारी आएपछि आफूले गृह मन्त्रालयमा अनुरोध गरी हेलकोप्टर मगाएर ओखलढुङ्गा पठाएको प्रजिअ ढकालले बताए । यसअघि एक छोरी रहेकी रिमाका श्रीमान् जीवनले आफूसँग सुत्केरी स्याहार गर्ने खर्चसमेत नभएका अवस्थामा निःशुल्क हेलिकोप्टर ल्याएर श्रीमती र छोरीको ज्यान बचाएको भन्दै खुसी व्यक्त गरेका छन् । 

सदरमुकामबाट एक दिनभन्दा बढीको पैदलदूरीमा रहेको सोताङमा सुत्केरी व्यथा लाग्दा कुनै समस्या देखिएमा हेलिकोप्टर भाडामा लिनाको विकल्प छैन । हेलिकोप्टर भाडामा लिन नसक्दा बर्सेनि छ सात गर्भवतीले ज्यान गुमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com