अब जुम्लाका सबै ठाउँ स्वस्थ सेवा योजना बन्ने I

जुम्ला पुष ४,

जुम्लाका २६ वटै गाविस र चन्दननाथ नगरपालिकामा आवधिक गाउँ स्वास्थ्य योजना बन्ने भएको छ । हेल्थ फर लाइफको उच्च प्राथमिकतामा परेका जिल्लाका १० गाविसमा आवधिक गाउँ स्वास्थ्य योजना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेपछि बाँकी १६ गाविस र चन्दननाथ नगरपालिकामा पनि आवधिक स्वास्थ्य योजना बन्न लागेको हो । 

स्वास्थ्यका लागि जीवन परियोजनाको उच्च प्राथमिकतामा परेका १० मध्ये हाँकु, कालिकाखेतु र नराकोट गाविसमा आवधिक स्वास्थ्य योजनाको मस्यौदा तयार गरी जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा बुझाइ सकिएको छ भने मालिकाबोता, कनकासुन्दरी, महावैपाथरखोला, रारालिही, कुडारी, देपालगाउँ र छुमचौरमा आवधिक स्वास्थ्य योजना निर्माणको क्रममा छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच स्थानीय स्वास्थ्य शासन सुदृढीकरण सहकार्यको खाकामा सम्झौता भएपछि गाविस स्तरको स्वास्थ्यसम्बन्धी आवधिक योजना बनाउन थालिएको हो । त्यही सहकार्यको खाकामा टेकेर जिल्लाका सबै गाविस र नगरपालिकाको आवधिक स्वास्थ्य योजना बनाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

हेल्थ फर लाइफको सहयोगमा १० वटा स्वास्थ्य संस्थाका प्रमुख, गाविसका सचिव तथा सामाजिक परिचालकलाई सहकार्यको खाकाबारेमा अभिमुखीकरण गराइएको छ । साथै गाउँ स्वास्थ्य योजना निर्माण तथा कार्यान्वयनका प्रक्रियाबारे पनि उनीहरुलाई जानकारी गराइएको छ । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले गाविसस्तरका स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने खालका योजना बनाउन गाविस सचिवलाई निर्देशन दिए । 

गाविसका योजना बनेजस्तै गरी योजना निर्माणका १४ चरण पार गर्दै स्वास्थ्यसम्बन्धी योजनालाई पनि परिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । पुस मसान्तभित्रमा सबै गाविसमा परिषद् सम्पन्न हुने भएकाले यस वर्षका लागि पूरक कार्यक्रम र आगामी वर्षका लागि वार्षिक योजना बनाउन स्थानीय विकास अधिकारी गिरीले निर्देशन दिएका छन् । 

 ्जिल्ला विकास समितिले बुधबार मात्रै सबै गाविसलाई वार्षिक बजेटको कम्तीमा २० प्रतिशत स्वास्थ्य तथा सरसफाइका लागि छुट्याउन परिपत्र गरिसकेको छ । हाँकु, कालिकाखेतु र नराकोटबाहेकका अरु गाविसमा यस वर्षको परिषद्मा पूरक कार्यक्रम प्रस्तुत हुने भएका छन् । तीनवटा गाविसमा बनेको मस्यौदालाई अन्तिम रुप दिएर गाउँ परिषद्बाट पारित गराई कार्यान्वयन गरिने जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । गाउँ स्वास्थ्य योजना कार्यान्वयनका लागि यस वर्ष हरेक गाविसमा रु दुई लाख बजेटसमेत आएको छ । 

गाउँ स्वास्थ्य योजना कार्यान्वयनका लागि जिल्लामा रु ६४ लाख बजेट विनियोजन भएको बताइएको छ । हेल्थ फर लाइफका जिल्ला कार्यक्रम संयोजक रोश्ना कँडेलका अनुसार उच्च प्राथमिकतामा परेका १० गाविसमा स्वास्थ्यसम्बन्धीे पाश्र्वचित्र तयार भएको र त्यसकै आधारमा पिछडिएका र सीमान्तकृत समुदायको स्वास्थ्यमा पहुँच वृद्धि हुने गरी योजना तयार गरिएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com