चिसो बढेका कारण दुई हप्ताको अवधिमा नौजनाको मृत्यु I

रौतहट पुष ५,

रौतहटमा चिसोका कारण तीनजनाको मृत्यु भएको छ । स्थानीय सङ्ग्रामपुर गाविसमा शनिबार राति चिसोले कठ्याङ्ग्रिएर तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सङ्ग्रामपुर–९ बस्ने ४५ वर्षीय रामनाथ पासवान, सोही गाविस–७ का ५५ वर्षीय अनती भगत राउत र सङ्ग्रामपुर गाविस–१ कै ५० वर्षीय चतुर्गणराय यादव रहेको थाहा भएको छ । 

चिसो बढेका कारण रौतहटमा सर्वसाधारणको ज्यान जानेक्रम सुरु भएको छ । चिसोका कारण गत दुई हप्ताको अवधिमा नौजनाको मृत्यु भएको गाविसका पूर्व अध्यक्ष किशोरी पटेलले बताए । श्वासप्रश्वासका रोगी तथा वृद्धवृद्धाको मुटुको भल्भमा समस्या हुने र अत्यधिक चिसोका कारण रगत जमेर मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यस्तै, कालीगण्डकीबेँसी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीमा केहीदिनअघि परेको पानीका कारण चिसो बढेपछि दैनिक जनजीवन प्रभावित भएको छ । 

चिसोका कारण यसभेगका तीनजनाले ज्यान गुमाएको रामपुर अस्पतालले जनाएको छ । चिसोमा रातभर कठ्याङ्ग्रिएर ज्यान गएको बताइएको छ । ज्यान जानेमा रामपुर नगरपालिका विजयपुरका २७ वर्षीय जिता घर्ती, रामपुर फोक्सिङ्कोटका ६३ वर्षीय सुमित्रा वाग्ले र साँखर स्याङ्जाका ५५ वर्षीय दलबहादुर मल्ल रहेका छन् । चिसोका कारण यस क्षेत्रका निजी क्लिनिक तथा अस्पतालमा दम, रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी बढेको अस्पतालले जनाएका छन् । 

चिसोका कारण हातखुट्टा सुन्निने, निमोनिया, दम, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको चाप यस भेगकै ठूलो अस्पतालका रूपमा रहेको रामपुर अस्पतालमा समेत बढेको अस्पतालका डा प्रकाश अधिकारीले जानकारी दिए । चिकित्सकले तातो खानेकुरा खान र तातोमा बस्न सल्लाह दिएका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com