शतप्रतिशत बालबालिकामा खोपको पहुँच I

कञ्चनपुर, १८ मङ्सिर,

कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीले शतप्रतिशत बालबालिकामा खोपको पहुँच पु¥याएको छ । चार सय ५६ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य चौकीले ५६१ बालबालिकालाई खोप लगाएको छ ।

आमाहरुले बालबालिकालाई बोकेर खोप लगाउनका लागि स्वास्थ्य चौकी पुग्न गाह्रो हुने भएकाले सात ठाउँमा खोप केन्द्र निर्धारण गरी ग्रामीण स्वास्थ्य कार्यकर्ताले बालबालिकालाई खोप लगाउने गरेको स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले बताए ।

जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा, क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टङ्कार, निमोनिया, रुवेला, जापानिज इन्सेफ्लाइटिसलगायतका रोगबाट बचाउनका लागि खोप लगाइने गरिएको छ । प्रत्येक महिनाको ४ देखि १० गतेसम्म निर्धारित खोप केन्द्रमा बालबालिकालाई खोप लगाउने व्यवस्था गरिएको प्रमुख झाले बताउनुभयो ।

महिला स्वास्थ्य स्वयम्सेविकाले खोपका फाइदाबारे ग्रामीण क्षेत्रमा रहेका आमाहरुलाई सचेतना छर्ने कार्य गर्दै आएकाले सबै आमाले शिशुलाई खोप लगाउँदै आएको छ । गर्भवती आमालाई लगाउने टिटी खोपको पहुँच ९६ प्रतिशतमा पुगेको अनमी रत्ना ठगुन्नाले बताइन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com