लहान मङ्सिर १७,
विगत पाँच वर्षको अवधिमा सिरहामा एचआइभी÷एड्सको संक्रमणबाट दश जनाको मृत्यु भएको छ ।
विसं २०६६ माघदेखि २०७१ मङ्सिरको पहिलो सातासम्ममा एचआइभी एड्सबाट सङ्क्रमितमध्ये १० जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका फोकलपर्सन सञ्जय साहले जानकारी दिए ।
यस्तै सिरहामा चालु आव २०७१÷७२ को साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा सातजना नयाँ एचआइभी एड्स सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले सञ्चालन गरेको एचआइभी भिसिटी सेन्टरमा जाँच गराएका ६४ जनामध्ये पाँचजना महिला र दुईजना पुरुष गरी सातजनामा एचआइभी पोजिटिभ भेटिएको भिसिटी सेन्टरका काउन्सेलर शिवदयाल महतोले जानकारी दिए ।
योसँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।
गएको आव २०७०÷७१ सम्ममा २१ जना पुरुष र १४ महिला गरी ३५ जना एचआइभी सङ्क्रमित रहेको थियो । एड्सबाट सङ्क्रमित सबैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको काउन्सेलर महतोले बताए ।
मानिसको मानसिकतामा अझै परिवर्तन आउन नसकेकाले एचआइभी सङ्क्रमितको वास्तविक तथ्याङ्क सङ्कलन गर्न नसकिरहेको उनको भनाइ छ ।
सङ्क्रमितमध्ये परीक्षण केन्द्रको आभावमा अधिकांश जनकपुर, धरान, विराटनगरलगायतका स्थानमा गई परीक्षण गराउने गरेको जनाएको छ ।
वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा धेरै भएको र फर्केपछि स्वास्थ्य जाँच गराउने प्रवृति नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले बताए । रासस :