२१ जिल्लाका महिला स्वयम्सेविकालाई सम्मान I

काठमाडौँ, १९ मङ्सिर ,

स्वास्थ्य सेवाका मेरुदण्डका रुपमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकाले गर्नुभएको कामको उच्च कदर गर्दै सम्मान गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न २१ जिल्लाका महिला स्वयम्सेविकालाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा शर्मिला घिमिरे (लमजुङ) जयन्तीदेवी राई (रौतहट), चमेली वाइवा (मकवानपुर), आशा घर्ती (बाँके), विमला देव (सप्तरी), पुन्ना विक (कालीकोट), भगवती पुन (पाल्पा), कमलादेवी केसी (म्याग्दी), बिस्ना रावल (बाजुरा), गोमती बोहरा( दार्चुला), झमकुमारी घिमिरे (रसुवा), धनलक्ष्मी खत्री (बझाङ) हुनुहुन्छ । 

यसैगरी पावित्री पोहार (नवलपरासी), पार्वती त्रिपाठी (धादिङ) उमा विश्वकर्मा (काभ्रे), शान्ता लामिछाने (नुवाकोट), भागीरथी जोशी (डडेलधुरा), तारा दाहाल (भोजपुर), भीमादेवी शर्मा (बागलुङ) दीपा बुढा (डोल्पा) र आइतमाली घर्ती (रोल्पा) रहेका छन् । 

स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । परिवार नियोजनका अस्थायी साधन वितरण, स्थायी परिवार नियोजनका बारेमा ज्ञान प्रदान, सुरक्षित मातृत्वलगायतका कार्यका गर्न २०४५ सालदेखि महिला स्वयम्सेविका कार्यक्रम सुरु भएको थियो । 

उनीहरुले झाडापखालाको लागि पुनर्जलीय प्याकेट वितरण, श्वासप्रश्वास रोग नियन्त्रण, जुका, भिटामिन ‘ए’ क्याप्सुल, आइरन चक्की वितरण, खोप, स्वास्थ्य शिक्षाका बारेमा पनि पैरवी गर्ने गर्दछन् । हाल महिला स्वयम्सेविकाको सङ्ख्या ५२ हजार पुगेको मन्त्रालयले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com