बेलौरी (कञ्चनपुर) मङ्सिर १६,
जिल्लाको दक्षिणी भेग बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा न्यानो झोला अभाव भएको छ । न्यानो झोला अभाव हुँदा अस्पतालमा सुत्केरी हुन आउने गर्भवती महिला र शिशुलाई चिसोबाट बच्न समस्या परेको केन्द्रले जनाएको छ ।
केन्द्रका निमित्त कार्यालय प्रमुख महेशसिंह खत्रीले केन्द्रमा रहेका न्यानो झोला कात्तिक मसान्तमै सकिएको र न्यानो झोला अभाव हुँदा सुत्केरी आमा र शिशुलाई चिसोबाट जोगाउन समस्या परेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय महेन्द्रनगरमा आव २०७०÷०७१ मा दिइएका २०० थान न्याना झोला सकिएपछि केन्द्रमा त्यसको अभाव भएको हो ।
केन्द्रमा मासिक २० देखि ३० महिला सुत्केरी हुन आउने गर्दछन् । न्यानो झोला सकिएको बारे जिल्लामा समेत जानकारी गराइसकेको निमित्त केन्द्र प्रमुख खत्रीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले बजेट नआउँदा न्यानो झोला आपूर्ति गर्न नसकिको जानकारी दिए ।
उनले भने, ‘बजेटको अख्तियारी आएको छैन, बजेट आएपछि टेन्डर हुन्छ ।’
जिल्लाभरिमा न्यानो झोला अभाव भएको भन्दै डेढ महिनाभित्रै न्यानो झोला आपूर्ति गरिने जनस्वास्थ्य कार्यालय प्रमुख महतले बताए । जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आव २०७१÷०७२ का लागि ४२ हजार न्यानो झोला वितरण गर्ने लक्ष्य लिएको छ । सरकारले आमा र शिशुको मुत्युदर घटाउने उद्देश्यले देशैभरि आव २०७०÷०७१ देखि ‘न्यानो झोला’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यो कार्यक्रम ग्रामीण भेगका सुत्केरी केन्द्रमा लागू भएको छ । ग्रामीण भेगका महिला सुत्केरी हुँदा उचित चाहिने कपडा नभएका कारण आमा र शिशुको स्वास्थ्य बिग्रने खतराबाट जोगिन सरकारले यस्तो कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय प्रमुख महतले जानकारी दिए । रासस :