कविता : देशवासी सबमा छ निराशा
देशवासी सबमा छ निराशा
छैन उन्नति हुने अब आशा
हुन्छ याँ न त खुसी न बिधान
खेल भो सुजनले यति जान ll१ll
देशको बिषय नै तल पर्छ
आफनै जिकिर पो अघि सर्छ
सिद्धियो कपटमै दिन रात
स्वार्थमै हुन गए सब बात ll २ ll
भैसक्यो मुलुक यो अति खोक्रो
शेष भो अब त केवल छोक्रो
छैन चेत यिनमा अझ सम्मै
भैसके अगतिला अब जम्मै ll ३ ll
बिन्ति यो सुनन लौ न विधाता
ज्ञान देर सबमा बन दाता
सुध्रियोस् सकलको मति फेरि
कामहोस् मुलुकको हित हेरी ll ४ ll
(स्वागता छन्द )
७ अक्षरमा विश्राम
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
komalpbhatta@yahoo.com