मुस्ताङमा हिमपात I

मुस्ताङ,२८ मङ्सिर ,

हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । अत्यधिक चिसोसँगै शनिबार दिउँसो २ बजेबाट हिउँ पर्न सुरु भएको हो ।

जिल्लाको कोबाङ र लेते गाविसबाहेक अन्य १४ वटै गाविसमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो ।

अहिलेसम्म सदरमुकाम जोमसोममा भुई ढाक्ने हिउँ परेको छ, यो क्रम जारी छ, प्रसनि जिसीले भन्नुभयो ।  पानीसँगै हिउँ पर्न थालेपछि मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ । त्यहाँका सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चराङ क्षेत्रमा बढी हिउँ परेको छ । लेते र कोबाङको गाउँसम्म हिउँ नपरेपनि डाँडापाखा भरी हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेपछि तल्लो क्षेत्रका किसानहरु भने खुसी भएका छन् । उपल्लो भेगका अधिकांश सर्वसाधारण कात्तिक दोस्रो साता नै चिसो र हिउँ छल्न वेशी झरिसकेका छन् ।

समयमै परेको हिउँले माटो मलिलो बनाउने भन्दै तल्लो भेगका किसान खुसी भएका छन् । “जिल्लाको सबै भू–भागमा हिमपात भएको छ, कुनै ठाउँ थोरै कुनैमा धेरै होला”– प्रसनि जिसीले भन्नुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com