अब सुत्केरी हुने महिलालाई बिनाब्याज कर्जा

कञ्चनपुर मङ्सिर २६,

सुत्केरी हुने महिलालाई बिनाब्याज कर्जा पाइन्छ भन्दा पत्यार लाग्न नसक्ला तर कुरा साँचो हो । कञ्चनपुरको देखतभूली–३ तिलकीका बासिन्दाले नेपाल रेडक्रस सोसाइटी शाखा महेन्द्रनगरको एम-रेड परियोजनाको सहयोगमा गठन गरेको इटाहा सामुदायिक व्यवस्थापन समितिको कोषबाट सुत्केरी हुन अस्पताल जाने महिलालाई बिनाब्याज कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

अस्पताल जान उत्प्रेरित गर्ने उद्देश्यले समितिका पदाधिकारीहरूले बिनाब्याज यातायातबापत रु पाँच हजार कर्जा दिने व्यवस्था गरेका छन् । हालसम्म १० जनाभन्दा बढी सुत्केरी हुन अस्पताल÷स्वास्थ्य चौकी पुग्ने महिलालाई कर्जाको रकम प्रदान गरिसकेको समितिका सचिव मङ्गलप्रसाद चौधरीले बताए । ‘घरमै महिलाले सुत्केरी हुँदा जोखिम बढी हुने र ज्यानै समेत जाने गरेकाले अस्पतालसम्म पुग्नका लागि कर्जा उपलब्ध गराउँदै आएका छौँ’ उनले भने, ‘यसबाट दुर्गम गाउँका महिलालाई बढी फाइदा पुगेको छ ।’ 

‘अस्पताल र स्वास्थ्य चौकी टाढा हँुदा विपन्न परिवारका महिलाले खर्चको व्यवस्था गर्न नसक्दा बाध्यतावश घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो’–स्थानीय कलावती चौधरीले भने, ‘समितिले जुनसुकै बेला सुत्केरी हुने महिलालाई कर्जा दिने व्यवस्था गरेपछि गाउँका सबै महिला अस्पताल पुग्न थालेका छन् ।’ सुत्केरी हुनका लागि अस्पताल जानुपर्छ भन्ने भावनाको समेत विकास भएको उनले बताए । 

समितिले वनहरा नदीमा अस्थायी पुल निर्माण गरी आवतजावत गर्नेबाट रकम लिएर कोषमा रकम जम्मा गर्दै आएको छ । समितिको कोषमा हालसम्म रु तीन लाख ५१ हजार जम्मा भएको छ । सुत्केरीसँगै समितिले कोषबाट आकस्मिक रूपमा बिरामी हुने व्यक्तिलाई समेत बिनाब्याज कर्जा उपलब्ध गराउँदै आएको छ । दुई वर्षअघि देखि समितिले कर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com