बिजुली सेवा विस्तारपछि पर्यटक आगमनमा वृद्धि I

तनहुँ, १७ मङ्सिर,

पर्यटकीय गाउँको रुपमा परिचित तनहुँको छिम्केश्वरी गाविसको हिलेर्खकमा बिजुली सेवा विस्तारपछि पर्यटक आगमनमा वृद्धि भएको छ । 

गत वर्षदेखि सो गाउँमा सञ्चालन गरिएको होमस्टेमा बिजुलीको सेवा विस्तारपछि हालसम्म बाह्य र आन्तरिक गरी करिब एक हजार पर्यटकले बास बसेको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश गुरुङले बताउनुभयो । 

उक्त स्थानमा लामो समयपछि बिजुली सेवा नपुग्दा हिलेखर्कवासी चिन्तित भएका थिए । ग्रामीण विद्युतीकरणअन्तर्गत जिविस तनहुँको ऊर्जा तथा वातावरण कार्यक्रमअनुरुप बिजुली सेवा विस्तार गरेपछि सो गाउँको मुहार फेरिएको हो । 

जिल्लाको आँबुखैरेनीस्थित मार्कीचोकबाट केन्द्रीय विद्युत् प्रसारणलाइनबाट करिब तीन किलोमिटर लामो दूरीबाट वितरण लाइन टाँगेर बिजुली सेवा विस्तार गरिएपछि झन्डै ७० घर गुरुङबस्ती लाभान्वित भएको छिम्केश्वरी–हिलेर्खक होमस्टे व्यवस्थापन समितिले जनाएको छ । उक्त गाउँका १० वटा घरमा होमस्टे सञ्चालन गरिएकामा उज्यालो नहँुदा सास्ती खेप्न बाध्य स्थानीय एवम् पर्यटकका लागि सहज भएको उहाँले बताउनुभयो । 

करिब रु १९ लाखको लागतमा सम्पन्न भएकामा रु १० लाख सरकारको अनुदान, गाविसबाट रु एक लाख र अन्य स्थानीय श्रमदान रहेको जिल्ला विकास समिति ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । जिल्लाको देउराली–४ मा रहेको हिलेखर्क गाउँ पछिल्लो समयमा पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदै गएको बताइएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com