काठमाडौं कार्तिक २३,
लिङ्ग पहिचानपश्चात् गरिने गर्भपतनका कारण पछिल्लो समय नेपालमा छोरा बढी जन्मन थालेको विशेषज्ञहरुले बताएका छन् ।
नेपाल स्त्री तथा प्रसूतिरोग समाज (नेसोग)ले आफ्नो रजत जयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा स्त्री तथा प्रसूति रोगविज्ञहरुले लिंगपहिचान पछि छोरा बढी जन्मन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाकी निर्देशक तथा नेसोगकी अध्यक्ष पुष्पा चौधरीले प्राकृतिक रुपमा छोराभन्दा छोरी बढी जन्मिनेमा नेपालमा पछिल्ला दिनमा छोरा बढी जन्मिने गरेको पाइएको बताइन् । यो समस्या तराई क्षेत्रमा बढी रहेको उनको भनाई छ ।
चौधरीले तीन महिना पछि गरिने गर्भपतनलाई गम्भीर गएर हेर्न सवै स्वास्थ्यकर्मीलाई अनुरोधसमेत गरिन ।
‘समाजमा छोरा र छोरीको बराबर हैसियत छ भन्ने मान्यतालाई कमै मानिसले व्यवहारमा उतार्छन्’ चौधरीले भनिन् । एक अध्ययनका अनुसार नेपालमा हरेक वर्ष करिब पाँच लाख महिला गर्भवती हुने गरेका छन् ।
नेसोगकी पूर्व अध्यक्ष तथा वरिष्ठ प्रसूति रोग विज्ञ दिव्यश्वरी मल्लले विगत २५ वर्षको तुलनामा स्त्री तथा प्रसूति रोगमा धेरै परिर्वतन आएपनि सबै गर्भवती महिलाले प्रसूति सेवा पाउन नसकेको बताइन् ।
‘मानिसमा चेतनास्तर बढेको छ तर सेवा सर्वसुलभ हुन सकेको छैन । केही दुर्गम जिल्लामा सरकारले बनाएका वर्थिङ सेन्टरले समेत काम गर्न सकेको छैनन् ।’ उनले भनिन् ।
वरिष्ठ स्त्रीरोग विषेशज्ञ डा. भोला रिजालले प्रसूति अस्पताललाई अब प्रसूति तथा स्त्रीरोग विषेशज्ञ केन्द्र तथा रिफरल संस्था बनाउनुपर्ने बताए । यो नेसोगको सुरुदेखिको सपना भएको उनको भनाई छ ।
पछिल्ला दिनमा प्रसूति गृह अस्पतालमा गर्भवति महिलाको भीड अस्पतालको क्षमताभन्दा बढी छ । चार बेडमा दश गर्भवती महिलाको उपचार गरिरहुनु परेको अस्पतालकी पूर्वनिर्देशक डा. चौधरीले बताइन् ।
यसैबीच, ‘एभ्री गर्ल चाइल्ड काउन्टस्’ भन्ने नारासहित साप्ताहिक कार्यक्रम तय गरेको नेसोगले शनिवार काठमाडौंमा प्रभातफेरि गरेको छ ।स्रोत-स्वाथ्य खबर :
