भटभटे संग मेरो विशेष लगाव I

नेपाली शब्द खेलाउने क्रममा झल्यास भटभटे शब्दलाई सम्झन पुगेछु । यसलाई चिरफार गर्न मन लाग्यो । कम मानिसले सुनेको शब्द भटभटे । 

हो के भटभटे ? अहिले भटभटे भन्नु भयो भने तपाई पुरा पाखे कहलिनु हुन्छ । कसैले यो शब्द सुन्न साथ हासेर मुर्छा पनि पर्लान । अहिलेको युगमा यस्तो शब्द प्रयोग गर्ने मानिस फेला परेछ भनि अनेक नामले सम्बोधन गर्लान भन्ने ठुलो पिर छ ।

खैर केहि छैन , कलम  चलाउनेले टिका टिप्पणी सहनु पर्छ । पृष्ठ पोषण बाट व्यक्ति खारिन्छ । यदि मेरो गोरुको बार्है टक्का भने हो भने मानिस उधोतिर जान्छ  । र, प्रगति हुदैन ।

भटभटे भनेको मैले बुझेको के हो भने भटभट गरेर कराउने दुई पाङ्ग्रे स्वचालित मानिस बोक्ने यान हो । यो थियो, बिशुद्ध तरिकाले ब्याख्या गर्ने तरिका । सरल भाषामा भटभट गर्ने चाही हो तर यसलाई आधुनिक युगमा बाइक भनिन्छ l बाइकले पनि पुरा अर्थ दिदैन तर अगाडीको अंक्षर अधिकांश रुपमा पोलेर खाने हुनाले बाइक भनिने गरिन्छ तर पुरा नाम भन्नु पर्दा मोटर बाइक ।

भटभटे तपाईले झुक्किएर पनि नभन्नु होला किनभने त्यो भन्नु भयो भने तपाई पाखे र पहाड या मधेसको कुन कुना बाट आएको आरोप लाग्दछ । र ,यदि यहा पढे लेखेको हुनु हुन्छ भने प्रति प्रश्न गरि हाल्नु हुनेछ ।

नेपाली शब्द कोषमा भटभटे शब्दको खोज गर्नु भयो भने सायद पाउनु हुने छैन तर  पर्यायवाची शब्दहरुको खोज गर्नु भयो भने पाउन पनि सकिन्छ । आफुले बीस बर्ष देखि अनवरत रुपमा प्रयोग गर्दै आएको शब्द भटभटे । अहा कति राम्रो शब्द  ! किनभने यस्मा मिठास छ र मेरो कानले राम्रो सुन्दछ ।निरन्तर रुपमा तपाई जे सुन्नु हुन्छ , त्यो बिस्तारै राम्रो लाग्दै जान्छ l मलाई पनि यो शब्दले मुटु छोएको छ ।

प्रयोग गरि रहने हो भने त्यहि शब्द हृदयमा बस्न सक्दछ भने त्यो शब्द कालजयी पनि हुन्छ । म जहिले पनि यहि शब्द प्रयोग गर्ने गरेको छु । म २० बर्ष देखि याद भए सम्म मैले कहिले पनि नेपाली समुदायमा बाईक या मोटर बाइक भनि उच्चारण गरेको छैन ।

हाल मेरो मुखारबिन्दमा स्वत :रुपमा भटभटे आई हाल्छ । अब त अंग्रेजी नाम पो भुल्ने हो कि भन्ने डर लाग्न थालको छ किनभने बसाई अमेरिकामा ।

मेरो मुखबाट भटभटे भनि उच्चारण भै हाल्छ किनभने आफुले दुई दशक देखि नेपाली समुदाय संग विचार बिमर्श या बिचार सम्प्रेषण गर्दा या कुराकानी गर्दा बिशुद्ध नेपाली भाषा मात्र प्रयोग गर्ने भनि गरिएको अभियान भएकोले ।

फेरी गलत अर्थ नलागोस र नलगाइयोस भनि पाठक वर्गमा अनुरोध छ किनभने जे कुराको पनि शुरु गर्दा त्यति सहज वातावरण बन्दैन र सरल हुदैन । धैर्यता चाहिन्छ । र ,२० बर्ष देखि भटभटे शब्द प्रयोग गर्दा आफुले धेरै शब्द सुन्नु परेको तितो अनुभव रहेको छ ।

प्रारम्भिक चरणमा भटभटे भन्दा साथीभाई तथा समूहमा हास्यको पात्र धेरै पटक भैयो ,त्यसमा मेरो टाउको दुखाई भएन किनभने जुन उदेश्यले बिशुद्ध नेपाली भाषा प्रयोग गर्ने अभियानमा लागिएको थियो त्यो शब्द प्रयोग अनिवार्यता थियो ।

र ,आफु नेपालको बिभिन्न गाउँ ,हिमाल ,कुना ,कन्दरा ,तराईका भित्रि मदेश ,लेक र बेसीको यात्रा गर्नु पर्ने पेसामा संलग्न भएकोले यात्राको क्रममा समुदायले प्रयोग गर्ने शब्दबाट टिपेकोले आफुले मोटर बाइकलाई भटभटे भन्न सुरु गरेको हु । मदेशमा फट फटिया भन्ने गरिन्छ ।

अहिले भन्न सक्दिन तर २०-३० बर्ष अगाडी गाउँ र पहाडमा भटभटे भन्ने सुनेकोले यो शब्दले मोहनी लगाएकोले भट भटे भन्न श्री गणेश गरेको हु ।

सायद भटभटेको धुवा नली बाट धुवा फ्याक्दै र चालु गर्दा त्यो आवाज निस्किएकोले त्यो आवाजलाई नै भटभटे नामाकरण गरिएको हुनु पर्दछ भन्ने लागेको छ ।

भटभटे भन्दा तपाई पाखे पनि हुनु हुन्न । तपाईलाई पहाड या मदेशको खोंचबाट आएको भन्ने आरोप पनि लाग्ने छैन । र, तपाईले भटभटे भन्ने बित्तिकै तपाई सानो पनि हुनु हुन्न । 

तपाईको सम्पत्ति पनि घट्दैन तपाईलाई समुदायले नकारात्मक रुपमा पनि हेर्ने छैनन । नेपालीहरुले आफ्नो जीवन कालमा यो दुई पांग्रे सवारी साधन भटभटे जसले पनि कुदाएकै हुने पर्छ भन्ने लागको छ । आफुले चडी र कुदाइ सकेको यानलाई  भटभटे भन्न किन लाज मान्ने ?

के अब भटभटे चलाउने हैन त ?

.....................................................अस्तु

विजय

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com