मुगु कार्तिक १७,
मुगुको कोटडाँडा ६ की १९ वर्षीया सविता थापा सुत्केरी ब्यथा लाग्ने बितिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् । त्यहाँ पुगेर स्वास्थ्यकर्मीको सहयोगमा सजिलोसंग सुत्केरी हुन पाइन्छ भन्ने उनको आशा थियो ।
तर, स्वास्थ्य केन्द्रमा कोही थिएन । उनलाई लगेका आफन्त आत्तिए । सवितालाई घरमै ल्याइयो ।
सुत्केरी ब्यथा लागेर छट्पटाईरहेकी थिइन् सविता । ससुरा शिवचन्द्र कार्की महिला स्वास्थ्यकर्मी खोज्दै गाउँ चहारे । गाउँमा पनि कोही भेटिएनन् । अन्ततः ब्यथा लागेको दुई दिन पछि सविताले स्थानीय सूडेनीको सहायताले घरमै परम्परागत रुपमा बच्चा जन्माईन् ।
गोठमा छोरी जन्माएकी उनलाई १५ दिनसम्म चिसो भुईमै राखियो । घरमा छुई मान्ने प्रचलनले सविताले गोठमा सुत्केरी हुनुपरेको हो ।
यो दृश्य कुनै चलचित्रको होइन । राजधानीमा बसेर सरकारी अधिकारीले स्वास्थ्यको सूचकमा विकास भएको भनेर गर्व गरिरहेका बेला मुगुबासीले भने यस्ता पीडा भोगिरहेका छन् । गमगढी सदरमुकामबाट दुई दिनको दक्षिणमा पर्छ कोटडाँडा । भौगोलिक विकट र आर्थिक अबस्था कमजोर भएकाले अन्यत्र लैजान नसकेर घरमै बच्चा जन्माएको शिवचन्द्र कार्कीले बताए ।
सविताको घर प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट २ मिनेटको दुरीमा मात्रे छ । स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मी नभेटिएपछि आफूहरुले बच्चा जन्माउनका लागि सहयोग गरेको सूडेनी चौका कार्कीले बताइन् ।
सुत्केरी भइसकेपछि बाँच्नुलाई स्थानीयहरु इश्वरको कृपा भन्छन् । ‘स्वास्थ्य संस्थामा कोही नभेटिँदा बाँच्ने आशासमेत सकिएको थियो, ईश्वरको भरमा बाँचें ।’ प्राथमिक स्वास्थ्य केन्द्रमा भने धेरै स्वास्थ्यकर्मी बिदामा रहेका छन् । करारमा रहेका अहेब लोकेन्द्र कार्की र एक जना पियनले सञ्चालन गर्दै आएको उक्त स्वास्थ्य केन्द्रमा दरबन्दीमा महिला स्वास्थ्यकर्मी कोही छैनन् ।
करारमा दुई जना अनमी रेखा शाही र रमिता कार्की रहेका छन् । उनीहरुपनि स्वास्थ्य केन्द्रमा नभेटिने गरेको स्थानीय बताउँछन् ।
स्थानीय शिव प्राविका प्रअ शंकर कार्कीले मुगुका थुप्रै महिलाले सुरक्षित सुत्केरी सेवा नपाएको बताए । ‘२४ घण्टे प्रसूति सेवा भनिने गरेको छ, तर बिदामा दिन कोही भेटिदैनन्, अनि कसरी सेवा पाउने’ शंकरले भने । आफ्नी श्रीमती सुत्केरी भएका बेला स्वास्थ्यकर्मी नभएर घरमै बच्चा जन्माएको स्थानीय जयरुप रावतले बताए । सबै दशै बिदामा गएकाले कोही नभेटाएको उनले बताए ।
मुगुमा पिना, गुमा, ढुङेधारा, श्रीकोट, रारा कक्ष गरि ९ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल गरि ११ वटा स्वास्थ्य केन्द्रमा प्रसूति सेवा केन्द्र स्थापना भएका छन् । धेरैमा महिला स्वास्थ्यकर्मी नहुने र २४ घण्टा खुल्ला नहुने गरेको स्थानीय बताउँछन् ।
जिल्ला अस्पताल मुगुकी आमा सुरक्षा कार्यक्रम संयोजक तथा सिअनमि सरोज घिमिरे केही ठाँउका प्रसूति केन्द्र २४ घण्टे सञ्चालनमा नआएको स्वीकार्छिन् । यसमा सम्बन्धित स्वास्थ्य केन्द्रको कमजोरी रहेको उनको भनाई छ ।
मुगु अस्पतालका निमित्त प्रमुख डा. भक्तजित श्रेष्ठले भने आफू नयाँ भएकाले कुनै जानकारी नभएको बताए ।
सरकारले ०६४ बाट निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत प्रसूति सेवा समावेश गरेको छ । प्रसूति सेवा केन्द्र स्थापना गर्दा भौतिक पुर्वाधार, दक्ष स्वास्थ्यकर्मी र औजार अनिवार्य भएको हुनुपर्ने व्यवस्था छ । आवश्यक सामग्रीको अभाव भएपनि स्वास्थ्य संंस्थामा प्रसूति सेवा केन्द्र स्थापना गरेको पाईएको छ ।
नामका मात्र प्रसूति केन्द्र भएको स्थानीयको आरोप छ । मुगुमा बच्चा र आमाका लागि भन्दै जिल्ला स्वास्थ्य कार्यालय, सुआहारा कार्यक्रम र युनिसेफलगायतले करोडौ रकम खर्च गरिरहेका छन् । तर, मातृ तथा बाल स्वास्थ्यको अवस्थामा भने सुधार आएको छैन ।प्रकाश सिंह-स्वस्थ्य खबर:
