कविता '' उड नारी उड '' By, समा श्री


कविता '' उड नारी उड '' बय, समा श्री

छामेर आफ्ना चिल्ला चिप्ला अङ्ग
बाहिरी कोमलतामा झुक्किएर
नअड्किनु नारी
 यो काया मै 
नको होइन
सूर्यको मद्धम तापमै पग्लिने
उडनलाई अचेल पंख चाहिँदैन
अचेल उडान
 उत्साहको इन्धन बाल्दै
हौसलाले भरिन्छ
 त्यसैले स्वच्छन्दताको पखेटा हालेर
उड नारी उड

पानी
 तरल छ सरल छ
 मन पानी पनि बाँध्न सके
हरेक उठने पाउहरुले

 अञ्जुलीबाट
तप्किएर झर्छ
बाँध्न सक्नुपर्छ
थोरै हिम्मतले यसलाई
 धवल बज्र बन्छ
चोटिहरुमा गएर सजिन्छ
 पासाङ ल्हामु पाइला नाप्न सक्छन्
र चूर्ण पार्न सक्छन्
 सगरमाथा अभिमान
त्यसैको शिरबाट अझ माथि
उड नारी उड

मनहरू इस्पातका छन्
 तिम्रा आँसुले पग्लँदैनन
तेजाब बनाऊ आँसुलाई
गलाउ रुढिबादको पिँजरा
जति अल्झियो उति जकडिने
च्यात माकुरा माकुराजाले सोच
 भात भाँडा चुल्हा चौकी
चुटकिमा सम्हाल्दै
 भान्साबाट उड
चुल्हाबाट उड
बन्धनबाट उड
अवचेतनबाट उड
 अब आफ्नो अस्तित्व सहित उड
 उड नारी उड

जंजिरले कहाँ सोच बाँधिन्छ र !
 दयित्वले कहाँ पाउ थामिन्छ र !
कर्तब्यहरु पंख काटने कैँची होइनन
यी त दर्शन ढुङ्गा हुन
तिम्रो आत्मबिश्वासलाई धार लगाउने
क्षितिज
तिम्रो मुठ्टिमा छ
अन्तरिक्ष
तिम्रो पहुँचमा छ
 ब्रम्हाण्ड
तिम्रो कोखमा छ
तिमी नै शक्ति हौ
तिमी नै जननी हौ
तिमी नै सृष्टि हौ
आफ्नै रचनामा
निर्बिघ्न रमाउन के लाज !
आफ्नै रचनालाई
खोकिला भित्र पार्न के दुबिधा
आफैले जन्म दिएर
आफ्नै हक कायम गर्न
आफ्नो नाम दिन
कसले छेक्छ ?
बाँध मुठ्ठीमा समय
 जगाउ देवत्व
उड अब उड नारी उड ||

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com