१२ बजे विद्यालय आएर ३ नबज्दै घर फर्कनु पर्ने बाध्यता I

बाबियाचौर -म्याग्दी, २६ कात्तिक,

 म्याग्दीको रुमका विद्यार्थी १२ बजे विद्यालय पुगेर ३ नबज्दै घर र्फकने गरेका छन् । विद्यालयदेखि घर टाढा हुनु, छात्रावासको सुविधा नहुनु, भौगोलिक विकटताका कारण भिर तथा जङ्गलको बाटो भएर ढिला गरी विद्यालय पुग्ने बालबालिका छुट्टी नहुँदै कक्षा छोडेर घर र्फकने गरेका हुन् ।

रुम-४ मा अवस्थित राष्ट्रिय मावि र ९ मा रहेको अमर ज्योति माविमा पढ्ने सोही गाविसको ७ नम्बर वडामा पर्ने पात्ले, घाङ्लेपानी र सुरुङखाल्टाका विद्यार्थीले हिउँदको समयमा कक्षा छाड्ने समस्या रहेको छ । बिहान घरको काममा अभिभावकलाई सघाएर तीन घण्टा हिँडेर विद्यालय पुग्ने र साँझ ३ बजे विद्यालयबाट नहिँडे समयमा नै घर नपुगिने हुँदा तीनवटा विषयको कक्षा नै छाड्नु परेको राष्ट्रिय माविको कक्षा ९ मा अध्ययनरत पात्लर्ेखर्ककी छात्रा मीनाकुमारी रोकाले बताईन् ।

भिर, पहरा र खोल्सा खाल्छी तथा जङ्गलको बाटो भएर विद्यालय पुग्ने करिब सयजना विद्यार्थी छात्रावासको सुविधा नहुँदा गृहकार्य र घरमा अध्ययन गर्न नपाएको पीडा बालबालिका सुनाउँछन् । पैदलयात्राका क्रममा थकाइ लाग्ने हुँदा घरमा पढ्नसमेत नपाउने र कक्षाकोठामा शिक्षकले पढाएको बुझ्न नसक्ने समस्याका कारण कतिपय विद्यार्थीले बिचैमा कक्षा छाड्ने गरेका छन् ।

भौगोलिक विकटताका कारण पढ्नका लागि धेरै समय हिँड्नुपर्ने बाध्यताका कारण विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराउन नसक्दा विद्यालयको शैक्षिक अवस्थासमेत कमजोर बनेको राष्ट्रिय माविका प्रधानाध्यापक अमरसिंह पुनले बताउनुभयो । विद्यार्थीको सुविधाका लागि छात्रावास सञ्चालन गर्ने प्रयास गरे पनि अनुकूल र आवश्यकता अनुसारको भवन लगायतको पर्ूवाधार नभएकाले सफल हुन सकेको छैन ।

गत वर्षकक्षाकोठालाई छात्रावासका रुपमा समेत प्रयोग गरिएको भए पनि व्यवस्थापन गर्न कठिन भएपछि निरन्तरता पाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पुनले बताउनुभयो । उक्त विद्यालयमा हाल ५५० जना अध्ययनरत छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com