कविता By, श्रीभक्त पौडेल ¨आफन्त¨


कविता  '' गंगा माया '' By,  श्रीभक्त पौडेल ¨आफन्त¨

उनी कहिले पो बिरामी थिईन् र? 
हो उनी बिरामी नै थिईनन्
देशको कानुनले ग्रस्त तुल्याएको थियो 
न्यायको भिक माग्दामाग्दै लखतरान् परिन्
परन्तु आज उनको रहेको ढुकढुकिमा 
जित मनाउदैछन्
न्यायका हिमायतीहरु 
फेरी आज प्रस्टियो कि 
कानुन अन्धो हुन्छ,,,

क्षत बिक्षत पारीदैछ आज 
सिङो शरीर बाट 
मन एकातिर, माया अर्को तिर 
गंगा लाई बिटुलाउदै छन्
पञ्चामृत बाड्ने पन्डितहरु नै 
हो आज झनै छर्लङ भयो 
न्याय त गोर्खामा पनि हराएछ 
खै कसरी दिने हुन न्याय 
राम शाह को चौतारीमा 
बुट बजार्नेहरुले,,

दोश देशको कानुनको हैन 
बिटामा खेल्ने र खेलाउनेको हो, 
गंगा र प्रसाद त गोटी मात्रै हुन्
धेरै कृष्णहरु पराजित भए 
हिमाली महाभारतहरुमा 
किन कि यहाँ 
शन्ख फुक्ने अर्जुनहरुनै 
डलर ले पुरिएछन् 
न कि नारदहरुले 
नारायण नै जपे। 

खै किन लेख्दै छन् छापाहरुले 
उनी निको भईन् भनेर 
सोध्दैछु म 
उनी कहिले पो बिरामी भईन्? भनेर 
मुन्टाइेको थियो गंगालाई 
पवित्र छालहरु बाट बगरमा 
किन कि त्यहा 
कहिल्यै पूर्ण नहुने नाटक मन्चन गर्नु थियो
बस् नाटक रोकियो 
सुत्राधारहरु लुके 
केही पात्रहरु लुकाइए 
केही पात्रहरु लाई मुकुन्डो भिराइयो 
गंगालाई बिरामी पारीयो 
निको त पारीयो 
अशक्त पारेर छाडिदै छ 
उनका सारा सपनाहरुलाई बलत्कार गर्दै। 

द्द्वन्दको घाऊमा नुन चुक छर्कदै 
बिजयको जुलुश निकाल्दै छन् 
किन कि उनी निको भईन्
चिता बाट फर्केकी उनिलाई 
थाहा छैन 
अझै कती बोक्ने हुन् उनलाई 
बिधि बिधानका पूजारीहरुले 

थाहा छ ??
आज उनलाई एक एस्तो त्रासले ब्युतायो 
मृत्‍यु भन्दा पनि ठुलो त्रासले 
हो उनले एउटा युद्द जितिन पनि,
ज्यान रहे संसार जितिन्छ भन्ने 

हो तर उनी बिरामी थिईनन् 
न्यायको सिरिन्जमा 
कानुन मिसाएर रोगी बनाइयो। 

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन नेपाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com