इबोला भाइरस बाट अमेरिकामा एकको मृत्यु, स्पेनमा पनि इबोला सन्त्रास फैलंदै I

एजेन्सी आश्विन २३,

अमेरिकामा इबोलाबाट एक व्यक्तिको मृत्यु भएको छ । टेक्सास अस्पतालमा थोमस एरिक डंकन नाम गरेका व्यक्तिको मृत्यु भएको हो । ४२ वर्षीय डंकन लाइबेरियाई मुलका थिए । 

इबोलाको संक्रमणपछि गत सेप्टेम्बर २८ मा उनलाई टेक्सासको डलासस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो, बान्ता र झाडापखालाको लक्षण देखिएको थियो । उनी आफन्त भेट्न १९ सेप्टेम्बरमा अमेरिका उत्रिएका थिए । उनले लाइबेरियामा इबोलापीडितलाई सहयोग गरेका थिए ।

यसअघि नै अमेरिकाले सबै प्रवेश मार्गमा इबोला संक्रमणको परीक्षण गर्न नयाँ मापदण्ड घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति बराक ओबामाले संक्रमणबाट बच्नका लागि मापदण्ड र नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
 
‘हामी अब कुनै गल्ती गर्दैनौं, यदि हामी मापदण्ड र प्रक्रिया पालना गर्दैनौं भने आफ्नै नागरिकलाई खतरामा पारिरहेका हुनेछौं’ ओबामाले भनेका छन् । ओबामाले अमेरिकाका प्रमुख ५ विमानस्थलमा यात्रुको परीक्षण गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । विदेश मन्त्री जोन केरीले पनि विश्वका सबै देशले यो संक्रमणसंग लड्न अझैं बढी प्रयास गर्नुपर्ने बताएका छन् ।
 
उता, स्पेनमा पनि इबोला भित्रिएपछि युरोपभर सन्त्रास फैलिएको छ । इबोलाप्रभावित एक नर्सको म्याड्रिडको अस्पतालमा उपचार भैरहेको छ । सियरालियोनबाट फर्किएकी एक अष्ट्रेलियाली महिलामा पनि इबोलाको लक्षण देखिएपछि निगरानीमा राखिएको छ ।

इबोलाबाट अहिलेसम्म ३८६५ जनाको मृत्यु भैसकेको छ । अधिकांश मृत्यु लाइबेरिया, सियरालियोन र गिनीमा भएका छन् ।

कुकुरको समर्थनमा नाराबाजी :
स्पेनकी इबोलाप्रभावित नर्सको कुकुरलाई इबोला फैलाउन सक्ने आशंकामा मारिएपछि जनावर अधिकारवादीले विरोध गरेका छन् । अधिकारीहरुले नर्स टेरेसा रोमेरो रामोसको कुकुर ‘एक्सक्यालिबर’ लाई मारेको सार्वजनिक गरेपछि आक्रोशित जनावर अधिकारवादीले नर्सको घरअगाडि बसेर ‘हत्यारा’ भन्दै नाराबाजी गरेका थिए । कुकुरलाई टेरेसाको घरभित्रै मारेपछि संक्रमणरहित पारिएको थियो  र नजिकैको इन्सिनेरेटरमा लगिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com