न्युयोर्क कार्तिक ९,
सूर्य थापा: अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समूुहमा पर्न सफल हुनुभएको छ । न्युयोर्कमा रहेर वकालत पेशामा सकृय रहनुभएका क्षेत्री सुपर लयर २०१४ मा पर्न सफल हुनुभएको हो । क्षेत्री अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल हुनुभएको हो ।
पत्रिकाले कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर सुपर लयर छनौट गर्दछ । विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छान्ने यो पत्रिकाको छनौटमा नेपाली मूलका अधिवक्ता क्षेत्री इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा पर्न सफल हुनुभएको हो । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गर्नुभएको छ ।
२५ बर्ष भन्दा धेरै समयसम्म वकालत गर्नुभएका क्षेत्रीले सुपर लयरमा परिसके पश्चात खुशी व्यक्त गर्नुभएको छ । सुपर लयर समूहमा परे पश्चात आफूलाई कार्य सम्पादनमा थप हौसला प्राप्त भएको क्षेत्रीले बताउनुभयो । ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ल एण्ड लएर मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेशन कानुन सम्बन्धी बिभिन्न जानकारी समेत दिदै आउनुभएका क्षेत्री ह्वाईट हिमाल टेलिभिजनको बिशिष्ट सदस्य समेत हुनुहुन्छ । सुपर लयरमा पर्न सफल क्षेत्री एनआरएन अमेरिकाको अध्यक्ष समेत हुनुहुन्छ ।