| इबोलाको सम्भावित लक्षण भएकालाई सुझाव दिँदै न्युयोर्कको बेलभ अस्पतालमा राखिएको संकेत। तस्बिरः एपी/रासस |
चार हजारभन्दा बढीको ज्यान लिइसकेको इबोला भाइरस प्रकोपलाई रोक्न अमेरिकाको न्युयोर्कको जेएफके विमानस्थलमा शनिबारदेखि चिकित्सकीय जाँच सुरु गरिएको छ। अमेरिका आउने यात्रुमध्ये ९० प्रतिशत सोही विमानस्थल भएर जान्छन्।
उक्त भाइरसबाट सबभन्दा बढी नराम्ररी प्रभावित लाइबेरिया, सियरालियोन र गिनीका यात्रुहरूको अनिवार्य रूपले शरीरको तापक्रम परीक्षण गर्नुका साथै र उनीहरूलाई केही शृंखलाबद्ध प्रश्न सोधिँदै छ। यी अफ्रिकी मुलुकबाट दैनिक १ सय ६० भन्दा बढी यात्रु अमेरिका भित्रिन्छन्।
अमेरिकाको सीमा तथा भन्सार सुरक्षा प्रतिनिधिहरूले उक्त रोगको उच्च तापक्रमजस्ता लक्षणको परीक्षण गर्नेछ। उल्लेखित अफ्रिकी राष्ट्रबाट आएका यात्रुलाई अमेरिका आउनुको यात्रा इतिहास र इबोला संक्रमितको सम्पर्कमा आए/नआएको बारेमा उनीहरूले सोधपुछ गर्नेछन्। तीमध्ये कुनै पनि प्रश्नको 'हो' भनेर उत्तर दिने बित्तिकै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का एक प्रतिनिधिले हस्तक्षेप गर्नेछ। उनले ती व्यक्तिलाई सार्वजनिक स्वास्थ्य सहयोग प्रदान गर्नेछ।
हाललाई पश्चिम अफ्रिकी मुलुकबाट सीधै अमेरिकाका लागि कुनै पनि उडान तालिका छैन। धेरैजसो अफ्रिकी यात्रुहरू युरोप भएर त्यहाँ पुग्ने गर्छन्। ती शंकास्पद पश्चिम अफ्रिकी मुलुकका नागरिकहरूले प्रस्थान गर्ने बेलामा यस्तो परीक्षणको सामना गर्नुपर्छ। रोगको पूर्ण लक्षण देखापर्नुअघि रोगीले दुई दिनदेखि तीन सातासम्म शरीरमा भाइरस लिएर हिँडिरहेको हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। 'खतराका कुनै कारण छैन,' न्युयोर्क मेयर बिल डे ब्लासियोले भने, 'सहर विशेष रूपले मजाले तयार छ।' रोगको कसरी पहिचान गर्ने र संक्रमितलाई तत्कालै कसरी छुटाउनेबारे चिकित्सक, अस्पताल र आकस्मिक चिकित्साकर्मीलाई प्रशिक्षित गरिएको उनले बताए। यसको सामना गर्न न्युयोर्क तयार रहे/नरहेको बारेमा बुझन विमानस्थलदेखि अस्पतालसम्मको तयारीबारे यस्तो लक्षण भएका नक्कली रोगीहरू खडा गरेर परीक्षण भइसकेको छ।
यसैगरी, सिकागोको ओ हारे, नेवार्क, वासिङ्टनको डुहलुस र एटलान्टा विमानस्थलमा आउने दिनमा परीक्षण सुरु हुनेछ। अमेरिकाको टेक्सासमा बुधबार इबोलाबाट टामस डंकनको मृत्यु भएपछि यो कदम चालिएको हो। उनी लाइबेरियाबाट अमेरिका आएका थिए। डल्लासमा आइपुगेपछि उनको रोग पत्ता लागेको थियो। यसको संक्रमणपछि रक्तस्रावसहित आउने ज्वरोबाट ४ हजार ३३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा जारी ताजा डाटामा भनिएको छ। तीमध्ये ४ हजार २४ जनाको मृत्यु पश्चिम अफ्रिकी मुलुक लाइबेरिया, सियरालियोन र गिनीमा भएको हो। हरेक मुलुकलाई यसविरुद्ध लड्न परिचालन नगरिएमा विश्व सदाको लागि यो रोगबाट पीडित भइराख्ने इबोलाका लागि नियुक्त राष्ट्र संघीय विशेष दूत डा. डेभिड नाबारोले चेतावनी दिएका छन्।
यसरी केही बेलायती विमानस्थलमा पनि यात्रुको स्वास्थ्य अवस्थाको जाँच हुनेछ। यो संकट पहिलो पटक इन्टरनेसनल चार्टर अन स्पेस एन्ड मेजर डिजास्टरमा समेत चित्रण गरिएको छ। जोखिमको खतरा आँकलन गर्ने नक्सा तयार गर्न उपग्रह छवि उपलब्ध गराउनमा यसको सामान्य भूमिका हुन्छ। रोगीको प्रत्यक्ष सम्पर्कबाट बच्नु, आँखालाई जोगाउन कालो चस्मा लगाउनु, अस्पतालका फोहोरजन्य सामग्री तह लगाउनु र निको भइसकेका इबोला संक्रमितले समेत तीन महिनासम्म यौन सम्पर्कबाट बच्नु वा कन्डोम प्रयोग गर्नु यसबाट बच्ने मुख्य उपाय छन्। न्युयोर्क (बीबीसी)