बिकट हुम्लामा सडक निर्माण माग I

काठमाडौँ, २८ असोज,

हुम्ला जिल्लाका सभासद् तथा नेताले सो जिल्लाको विकासका निम्ति कर्णाली लोकमार्गका बारेमा पहल गरिदिन आग्रह गर्नुभएको छ । 

सभासद्ले आज संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीलाई सिंहदरबारस्थित कार्यालयमा भेटी विकासको दृष्टिले सबैभन्दा पछाडि पारिएको हुम्लाको सडक विकासको ढोका खोल्ने कर्णाली लोकमार्ग कालीकोट खुलालुदेखि हुम्लाको सिमकोटसम्म जति सक्दो चाँडो बनाउनका निम्ति पहल गरिदन आग्रह गर्नुभयो । 

समितिका सभापति अधिकारीले मुलुकको अन्य जिल्लाको विकासको तुलनामा हुम्ला निकै पछाडि परेको अवस्थामा सो क्षेत्रको विकासका लागि छुट्टै उपसमिति बनाएर भए पनि आफूले गम्भीरतापूर्वक काम गर्ने बताउनुभयो । हुम्लामा सडक पु¥याउन नेपाली सेना, सडक विभागलगायत सरोकार भएकानिकायसँग कात्तिक सुरु हुनेबित्तिकै बह्स सुरु गर्ने उहाँको भनाइ छ । 

सभासद् जीवनबहादुर शाहीले जुम्लाको अन्य विकासका लागि पहिला सडकको विकास हुनुपर्ने माग गर्दै त्यसका लागि हुम्लावासीले सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । पूर्वराज्यमन्त्री छक्कबहादुर लामाले हुम्लावासीलाई राज्यले विभेद गरेको आरोप लगाउँदै सो क्षेत्रको आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान गर्न आग्रह गर्नुभयो । कर्णाली विकास आयोगका सदस्य दीपकबहादुर बुढाले नेपाली सेनाको नेतृत्वमा स्थानीयवासीलाई परिचालन गरिएमा कम खर्चमा पनि हुम्लाको बाटो निर्माण गर्न सकिने बताउनुभयो । 

 कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष शिवराज शर्माले अधिकारकर्मी दीपेन्द्र रोकाया र सीप नेपाल हुम्लाका प्रमुख अङ्गबहादुर लामालगायतले हुम्लामा देखिएको सडक समस्या समाधान गर्न सकेमा पर्यटनमा अत्यन्तै विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com