राप्तीमा अन्धोपन घट्यो गाउँगाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन I

तुलसीपुर (दाङ), २६ असोज,

राप्ती अञ्चलमा अन्धोपन घटेको छ । सन् १९८१ मा ०.८७ प्रतिशत अन्धोपन रहेकामा हाल ०.१३ मा झरेको राप्ती आँखा अस्पतालको एक तथ्याङ्ले देखाएको छ । सो अस्पतालले गाउँगाउँसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरेपछि अन्धोपन घटेको बताइएको छ । 

 अस्पतालले आँखाका बिरामीलाई लक्षित गर्दै गाउँमा सम्भव भएसम्म गाउँमै शल्यक्रिया तथा जटिल रोगलाई अस्पतालमा बोलाएरै निःशुल्क शल्यक्रिया गर्ने गरेको छ । त्यसैगरी राप्ती आँखा अस्पताल रक्षाचौरले राप्तीका रोल्पा, रुकुम र सल्यानबाट आउने बिरामीलाई भने निःशुल्क रुपमा शल्यक्रिया गर्दै आएको जनाएको छ । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले ९० प्रतिशत बिरामीको अन्धोपन उपचारबाट निवारण गर्न सकिने बताए । 

हाल विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजना व्यक्ति दृष्टिविहीन बन्ने गरेको बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक एक मिनेटमा एक बालकले आफ्नो दृष्टि गुमाउन पुगेको तथ्याङ्क रहेको बताए । चेतनाको अभावले पनि अन्धोपन बढेको बताइएको छ । जनचेतनाको अभावका कारण समान्य रोग र चोटपटकबाट समेत अन्धो हुुनुपर्ने समस्या रहेकाले बेलैमा सजक हुनुपर्ने आँखा रोग विज्ञहरुले बताएका छन् । 

हटाउन सकिने अन्धोपन अब नबढाउँ, सबैका लागि आँखा स्वास्थ्य भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस–२०७१ को अवसर पारी हालै राप्ती आँखा अस्पताल रक्षाचौरमा भएको कार्यक्रममा नेपालमा हाल ०.३२ प्रतिशत अन्धोपन रहेको र २०२० सम्ममा नेपालबाटै अन्धोपन निवारण गर्ने लक्ष्य रहेको र आफूहरुले सोअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिए । उनले राप्ती आँखा अस्पताल रक्षाचौरले हालसम्म एक लाखलाई नयाँ दृष्टि दिएको र १४ लाख आँखाका बिरामीलाई सेवा दिएको बताए । 

राप्ती आँखा अस्पतालअन्तर्गतका अस्पतालमा एक लाख मोतियाबिन्दुको शल्यक्रिया गरी दृष्टि प्रदान गरेको बताएको छ । थापाले भने, ‘विगतको तुलनामा हाल राप्तीमा अन्धोपन घट्दो अवस्थामा रहेको छ, पछिलो तथ्याङ्कअनुसार झन्डै ०.१३ प्रतिशतमात्र अन्धोपन रहेको छ ।’ त्यसलाई पनि अन्त्य गर्न अस्पतालले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताएको छ । अस्पतालले राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत धामीझाँक्रीलाई तालिम, आमा समूहलाई तालिम, स्वास्थ्य चौकी तथा विद्यालय शिक्षकलाई सचेतना तालिमलगायत कार्यक्रम गर्ने गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक सालीकराम गौतमले बताए । 

अस्पतालले राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँगाउँमा बिरामीको उपचार अभियानसमेत सुरु गरेको छ । जिल्लाका विभिन्न गाउँमा गएर निःशुल्क आँखा जाँच कार्यक्रम तथा विशेष छुटमा मोतिबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ । आँखाजस्तो संवेदनशील अङ्गको समयमा उपचार नगराउँदा मोतिबिन्दुका कारण आँखा बन्द हुने अवस्था हँुदासमेत मानिस उपचार नगराई घरमा नै बस्ने गरेका कारण पनि अन्धोपन बढेको बताएको छ । विशेषगरी पैसाको अभावले अस्पतालसम्म पहुँच कम भएका आँखाका बिरामीलाई लक्षित गरी आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको हो । 

‘आफ्नो गाउँमा आँखा रोगको समस्या भएका बिरामी छन्, भने हामीलाई खबर गरे तत्काल उपचार सेवामा आउँछौँ’ राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले भने । उनले थपे, ‘हाम्रो उद्देश्य भनेको केही पनि पैसा तथा जनचेतनाका अभावका कारण दृष्टि गुमाउन नपरोस् र समयमै मोतिबिन्दुको शल्यक्रिया गरे आँखा बन्द हुँदैन भन्ने नै हो ।’ अस्पतालका अनुसार हाल अस्पतालले ५० प्रतिशत छुटमा मोतिबिन्दुको शल्यक्रिया गर्ने र घर आँगनमा नै गएर निःशुल्क आँखा चेक जाँच गर्ने गरेको जनाएको छ । 

अस्पतालले ‘भिजन २०२० को ‘राइट टु साइट’ लक्ष्य प्राप्तिका लागि ‘दृष्टि सबैका लागि’ कार्यक्रमको आर्थिक सहयोगमा ५० प्रतिशत छुटमा मोतिबिन्दुको शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको बताएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर मातहतले सिफारिस गरेका रुकुम, रोल्पा र सल्यानका मोतियाबिन्दुका बिरामीलाई भने निःशुल्क शल्यक्रिया गरिने बताएको छ । 

पछिलो समयमा अस्पतालले गरेको निःशुल्क आँखा जाँच कार्यक्रममा प्रत्येक स्थानमा २०० जनामध्ये करिब ३० जना मोतिबिन्दुको सङ्क्रमण भएका बिरामी भेटिएको अस्पतालले जनाएको छ । यस्ता भेटिएका बिरामी पनि अस्पतालमा आउन र समयमै उपचार गरी ‘अन्धो हुनबाट बच्नु’ भन्ने कार्यक्रमको उद्देश्य रहेको नेत्र सहायक गौतमले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com