कविता '' नियती'' By, निर्मला खड्का


कविता '' नियती''

थकित उद्विग्न मन निरुपाय हुन्छ
जब नजर बिहानीको खबर भेट्छ
पाशविकता को अर्थ ...
पराकाष्ठाको नियम खोज्छ
के म छोरी हुनुको ऋण तिर्नु पर्छ ?
प्रश्न खुलेका निर्जीव आँखा भरी

अस्मिता नाम सृष्टीको
सृष्टी एक नारी अस्तित्व
सृष्टी एक पूर्णता जगतको
कहिले अधुरो अपूर्ण
कतै भरिलो सम्पूर्ण
मेरो उदयमा यहि नाम दिईएको थियो ।
मेरो अज्ञानताको संसार
मेरै आँचलमा लुक्छन् जब
मातृत्व ,बात्सल्यता सिँचेर पुरुष पिण्ड हुर्काउछु
परम्पराहरु धान्न ।
उही अस्मितालाई
एक नजर उसकै बाबुले नियाँल्छ
नजरमा दानवीय विरता बोकेर
अभिनय राग अनि एक पात्र
उसको सभ्यता,सन्तुष्टि या रोग
अस्मिता च्यातिएर भूइभरी छरिन्छे ।
लामो आयुको ब्रत,पूजा, संस्कृती,धर्म
नाङ्गिन्छ सृष्टीको सामु
बन्द रितिरिवाज,तन्त्र, शास्त्र अनि शस्त्र
इज्जतसंगैको भोक र तृष्णा
पुरुषार्थको परिभाषा
बिहानीको खबरमा आउँछ
धुजा धुजा चियात्तिएको
अस्मिताको साडीमा छापिएर
थकित,उद्विग्न मन निरुपाय हुन्छ
जब नजर बिहानीको खबर भेट्छ ।

निर्मला खड्का
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com