'' गज़ल '' By, कोमल भट्ट


'' गज़ल '' By, कोमल भट्ट

सधैँ झैं दुखाएर आयो तिहार
प्रवासी रुवाएर आयो तिहार

न बैनी दिदी छन् न ता दाजु भाइ
हितैषी छुटाएर आयो तिहार

कथा भैसके सेल,रोटी,अनर्सा
मिठासै हराएर आयो तिहार

भए स्वप्न टीका,मसाला र माला
नियाँस्रो लगाएर आयो तिहार

कतै दीप माला बलेनन् खुसीले
अँध्यारो बनाएर आयो तिहार

झर्यो आँसु सम्झेर द्यौसी र भैली
अतीतले सताएर आयो तिहार

ठगी भाग्यले आज डाँडा कटायो
मनै यो बिझाएर आयो तिहार

गयो भोक निन्द्रा हुँदा भित्र पिडा
सिरानी भिजाएर आयो तिहार

सके सम्म हामी भुलौँ कष्ट सारा
मनाऔं रमाएर आयो तिहार

बहरे मुतकारिब मुसम्मन् सालिम
फऊलुन् -१२२ x ४
( भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com