तरकारी बोक्ने ट्रकमा तीन क्विन्टल अवैध लागूपदार्थ I

सर्लाही  भदौ ३१,

चूडामणि वाग्ले : तरकारी बोक्ने मिनी ट्रकमा लुकाएर राखिएको झन्डै तीन क्विन्टल अवैध लागूपदार्थ गाँजा सोमबार सर्लाही प्रहरीले बरामद गरेको छ। बिहान साढे ३ बजे चालकसहित २ जना र ट्रक नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुरेश वस्नेतले जानकारी दिनुभयो। 

तरकारी राख्ने खाली क्यारेट राखेको ट्रकभित्र गोप्य संरचना बनाएर ल्याएको विभिन्न तौलका १८ पोका गाँजा बरामद भएको हो। ‘तौल गर्दा गाँजा २ सय ८० किलो रहेको पाइएको छ’, प्रहरी उपरीक्षक वस्नेतले भन्नुभयो– ‘मकवानपुरबाट नियमित रूपमा गाँजा तस्करी गर्ने ठूलो समूहले यो गाँजा ल्याएको देखिन्छ।’ पूर्वतर्फ लगिँदै गर्दा पूर्वपश्चिम लोकमार्गको कर्मैयामा बा१ख ४३४४ नम्बर ट्रक नियन्त्रण लिइएको हो। 

ट्रक चालक मकवानपुर नामटार गाविस–६ का बुद्धसिंह बल र उनीसँगै रहेका सोही ठेगानाका बाबुराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ। ट्रकको इन्जिन र बडीको बीचमा फलामको गहिरो बाक्साजस्तो फल्सबटम स्थायी संरचना जस्तो देखिने गरी बनाइएकाले सामान्य रूपमा हेर्दा गाँजा राखेको पत्ता नलाग्ने अवस्था भएको प्रहरीले बतायो। कर्मैयामा खाली ट्रकमा गाँजा नभएको देखिए पनि प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि गाँजा लुकाएको पत्ता लागेको थियो।

विश्वासिलो सुराकी भएकाले पक्कै गाँजा होला भनेर निकै मिहेनतपूर्वक खोजी गर्दा ट्रकको गाँजा भेटिएको प्रहरीको भनाइ छ। सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक बस्नेतले यसबारे गम्भीर अनुसन्धान भइरहेको बताउनुभयो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com