काठमाडौं भाद्र २५,
नेपालमा पहिलोपटक ५ हजार मानिसको निःशुल्क मुटु परीक्षण हुने भएको छ । विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयाघात सचेतना केन्द्रले अनुसन्धान र सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले निःशुल्क मुटु स्वास्थ्य शिविर गर्न लागेको हो ।
मुटु रोग रोकथाम र नियन्त्रणमा कार्यरत सो केन्द्रले उपत्यकामा बसोबास गर्ने १८ देखि ४० वर्ष उमेर समूह र विभिन्न समुदायका मानिसको मुटु परीक्षण गर्न लागेको जनाएको छ । केन्द्रले भदौे २८ देखि असोज ७ गतेसम्म महाराजगञ्जमा रहेको नेपाल हार्ट क्लिनिकमा शिविर सञ्चालन गर्ने जानकारी दिएको छ ।
शिविरमा रक्तचाप, इसिजी, सुगर र कोलेस्टेरोल, मुटु तथा अन्य अंगको जाँच, मुटु रोगका कारणको मुल्याङकन हुनेछ ।
केन्द्रले यकिन मुल्याङकनका लागि रगतको नमूना परीक्षण भारतस्थित अत्याधुनिक प्रयोगशालामा पठाउने जनाएको छ । परीक्षणका लागि प्रतिव्यक्ति करीब २५ सय रुपियाँ खर्च लाग्ने भएपनि केन्द्रले शिविरमा निःशुल्क गर्न लागेको हो । शिविर मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सक्रियतामा सञ्चालन हुन लागेको हो । शिविरमा जोखिममा रहेका बिरामीलाई उनीहरुको वर्तमान स्वास्थ्य अवस्था र भविष्यमा हुने जोखिमबारेसमेत जानकारी दिएर रोकथाममा अपनाउनु पर्ने सावधानीबारे परामर्श एवं श्रव्य सामग्रीसमेत वितरण गरिने डा.अनिलले बताए ।
केन्द्रले शिविरमा आउँदा विहान ६ देखि १० बजेभित्र खाली पेटमा आउँनसमेत आग्रह गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१४ को जनवरीमा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको ९९.६ प्रतिशत जनसंख्यालाई कुनै न कुनै मुटु रोगको संभावना रहेको छ । सो अध्ययनले नेपालका ४७.७ प्रतिशत मानिसले एक पटक पनि ब्लडप्रेसर जाँच नगरेको देखाएको छ । यसैगरी नेपालका २५.७ प्रतिशत मानिसलाई उच्च रक्तचापको समस्या रहेको अध्ययनले देखाएको छ ।
‘गाउँमा भन्दा शहरमा मुटु रोगीको संख्या बढी भएकाले शहरमा यस्तो शिविर राखिएको हो’ डा. अनिलले भने, ‘यो शिविरले ५ हजार मानिस प्रत्यक्ष लाभान्वित भएपनि सिंगो राष्ट्र र समाजलाई फाइदा पुग्नेछ ।’
source-heakth news :