लुम्बिनी नजिकै बौद्धकालीन वस्तुले निमार्ण गरिएको नगरको स्वरुप फेला I

लुम्बिनी भाद्र २०,

रुपन्देहीको आमा गाविसस्थित अमहवामा बौद्धकालीन वस्तुले निमार्ण गरिएको नगरको स्वरुप फेला परेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउमा पुरिएको अवस्थामा रहेको उक्त पिल्लर जस्तो वस्तु केही समय अगाडि आएको बाढीले नदी किनार भत्काएपछि उक्त स्थानमा बौद्धकालीननगर हुनसक्ने सम्भावनाको आंकलन गरिएको छ ।

बुद्धसँग सम्बन्धित भेटिएका ती वस्तु तथा इनार फेला परेकाले उक्त स्थानमा बुद्धकालीन इनार भएको हुनसक्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल सुवेदीले जानकारी दिए । । उनले उक्त क्षेत्रमा फेला परेका अवशेष तथा वस्तुहरु बौद्धिक साइटमा रहेका वस्तु जस्तै भएकाले त्यहाँ पनि कुनै बेला बुद्धकालीन नगर भएको हुनसक्ने उल्लेख गरे ।

नदी छेउमा रहेको वस्तु इनार, गुम्बज अथवा अन्य के हो यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ । उनले सोे क्षेत्रमा कुनै सम्पन्न नगर पुरिएको अवस्थामा रहेको हुनसक्ने सम्भावना बलियो रहेको बताए ।

फेला परेको वस्तु बौद्धकालीन अथवा सोभन्दा एक÷दुई सय वर्ष अघि पछिको पनि हुनसक्ने पुरातत्व अधिकृत सुवेदीको अनुमान छ । त्यस क्षेत्र आसपासमा सन् १९६४ मा पनि उत्खनन गरेको र त्यहाँ प्राचीन सम्पन्न नगर हुन सक्ने सम्भावना रहेको त्यस बेला सार्वजनिक विभिन्न प्रतिवेदनहरुमा पनि उल्लेख भएको पुरातत्व विद्हरुको भनाइ छ ।

नदीभन्दा करिब २० फिट बाहिर देखिएको सो वस्तु प्राचीनकालको इनार अथवा कुनै किल्लाको अवशेष हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । तल गोलो र माथि करिब दुई÷तीन फिट वर्गाकारमा देखिएको सो वस्तु कुनै सम्पन्न नगरको गुम्बज पनि हुनसक्ने स्थानीयको अनुमान छ ।

नदीको छेउछाउमा त्यस्ता अन्य पुरातात्विक वस्तुसमेत रहेको छ भने पुराना माटाका भाडा, ह्वाइट स्टोन, ब्ल्याक स्टोन, विभिन्न किसिमका घैटोजस्तो देखिने वस्तुहरु फेला पर्ने गरेको स्थानीय एक सय वर्षीय बुद्ध बलदारो लोधले बताए ।

पहिले नदी करिब एक किलोमिटर पूर्वतर्फ रहेको दानव नदी कालान्तरमा बग्दै पश्चिमतिर च्याप्दै लगेको र यी वस्तुहरु भेटिन थालेको उनी बताउछन् । नदीको छेउमै अहिले पनि थप दुई वटा त्यस्तै प्राचीन वस्तु रहेको छ । धेरै पिल्लर जस्तो वस्तु देखिएको कारण सो वस्तुहरु प्राचीन नगरको रक्षा गर्न बनाइएका किल्ला पनि हुनसक्ने स्थानीयले बताएका छन् ।

नदी छेउछाउ केही बहुमूल्य वस्तु सामग्री भेटिए पनि त्यसलाई घर लैजाने व्यक्ति बौलाउने गरेको बताउँदै लोधले भने – “त्यसकारण यस क्षेत्रमा पाइएको सामानहरु कसैले पनि घर नलैजाने र पुनः नदीमै बिसर्जित गर्ने गरेका थिए ।” लुम्बिनी नजिकै रहेको हुँदा सो वस्तु बुद्धकालीन भएको स्थानीयको ठम्याइ रहेको छ । यहाँ हाम्रा बाबु बाजेदेखि नै पहिला पम्पापुर नामको नगर रहेको चर्चा चल्ने गरेको बुद्ध लोधले बताए ।

प्राचीन सम्पदाको रुपमा देखा परेको उक्त क्षेत्रको संरक्षणका लागि पुरातत्व विभागले कुनै चासो नबढाएको स्थानीयको गुनासो छ । नदीमै रहेको सो प्राचीन धरोहर कुनै पनि समय नदीमै बिलिन हुने सम्भावना रहेको छ ।

खोलामा डुङ्गा चलाउने स्थानीय माझीहरुका अनुसार सो वस्तु निस्किएको स्थानमा खोला धेरै गहिरो रहेको छ । त्यहाँ उनीहरुले करिब ३० फिट खोलाको गहिराइ रहेको अनुमान लगाएका छन् ।

स्थानीय दुर्योधन बढईले सो क्षेत्रमा तटबन्ध गरी सो धरोहरलाई जोगाउनु पर्ने बताउनुहुन्छ । धेरै मानिसहरु यसलाई हेर्न आए र गए तर यसको दीर्घकालीन संरक्षणका लागि कसैले केही जानकारी नदिएको उनको भनाइ छ । यस क्षेत्रमा उत्खनन गरी अनुसन्धान गर्ने हो भने यस क्षेत्रको कायापलट हुने आमा गाविसका सामाजिक परिचालक विजय गुप्ताले बताए ।

लुम्बिनीसँग सम्बन्धित अन्य स्थानलाई लुम्बिनी विकास कोषले आफ्नो संरक्षणमा लिई रेखदेख गरे जस्तै यस क्षेत्रको जिम्मा पनि कोषले लिई यसलाई बौद्ध सर्किटसँग जोडेर यस क्षेत्रको विकासमा योगदान गर्नुपर्ने स्थानीयले माग रहेको छ । - रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com