भाद्र २०,
खुट्टा, पेट, ब्लाडर, कलेजो र यौनांग एउटै । तर, मानिस अलग । ब्राजिलका यी अनौठा जुम्ल्याहालाई निकै जटील अपरेशनमार्फत् छुट्याउने तयारी भएको छ ।
छुट्याउँदा कुन अंग कुन बालकमा राख्ने, चिकित्सकहरु नै हैरानीमा परेका छन् ।
आर्थर र हाइटर नामका यी बालकलाई ब्राजिलका सर्जनहरुले अपरेशन गर्ने तयारी गरेका हुन् । प्रारम्भिक तयारीअनुसार आर्थरमा दुईवटै मिर्गौला राखिनेछ भने हाइटरमा एउटा मिर्गौला हुनेछ । यस्तै, एउटा बालकमा यौनांग राखिनेछ भने अर्को बालकमा पछि शल्यक्रियामार्फत् यौनांगको विकास गरिनेछ ।
बहिया ब्राजिलका यी बालकका तीन खुट्टा छन् । अपरशेनपछि दुवैजनामा एक–एक खुट्टा राखिनेछन् भने बाँकी एक खुट्टा अपरेशनका क्रममा मासु र छाला चाहिएका ठाउँमा प्रयोग गरिनेछ । सर्जनहरुका अनुसार यो अपरेशन निकै जटील छ । तर, बालकका बाबुआमा इलियाना र रोकाले अपरेशन गरी छुट्याउने निर्णय गरेका हुन् । ‘जब अपरशेन गर्ने कुरा भयो, उनीहरुले नै छुट्टिन चाहेका हुन्, यो मेरो मात्र होइन,परिवारकै चाहना हो’ बालकका आमा इलियानाले भनिन् ।
अपरेशनबाट छुट्याएपछि दुवै बालकका छाति, पेट र हिपमा सिलाउन थुप्रै छाला चाहिने जनाइएको छ । बालरोग विशेषज्ञ डा. जाखारियाज कालिलको नेतृत्वमा अपरेशन हुन लागेको हो । उनले सन् २००९ को अप्रिलमा जन्मेदेखि नै बालकहरुलाई हेरिरहेका छन् । ‘यो निकै जटील शल्यक्रिया हो र यसमा खतरा पनि उत्तिकै छ’ डा. कालिलले भनेका छन् । उनका अनुसार अपरेशनभन्दा पनि अपरेशनपछिका कार्य निकै जटील छन् । अपरेशन केही महिनापछि गरिने समाचारमा जनाइएको छ । एजेन्सी :