पर्सा भाद्र २३,
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया भएको छ । चिकित्सकीय क्षेत्रमा अत्यन्तै गम्भीर मानिएको मेरुदण्डको शल्यक्रिया तराईका जिल्लामध्ये नारायणी उपक्षेत्रीय अस्पतालमा पहिलोपटक गरिएको हो ।
काठमाडौँस्थित निजी अस्पतालमा शल्यक्रिया गराउँदा रु चारदेखि रु पाँच लाख र सरकारी अस्पतालमै गर्दा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म खर्च लाग्ने मेरुदण्डको शल्यक्रिया उपक्षेत्रीय अस्पतालमा गराउँदा बिरामीको मात्र रु ३५ हजार खर्चमा सफल भएको अस्पतालले जनाएको छ ।
रुखबाट लडेर मेरुदण्ड भाँच्चिई उपचारका लागि राजधानीदेखि भारतको पटनासम्म धाएका रौतहट निवासी हितलाल चौधरीको नारायणी उपक्षेत्रीय अस्पतालमा न्यूनतम खर्चमै सफल शल्यक्रिया भएपछि चौधरी परिवार अत्यन्त हर्षित भएका छन् ।
अस्पतालले चौधरीको शल्यक्रिया गर्दा तिर्नुपर्ने शुल्क र औषधिसमेत निःशुल्क उपलब्ध गराएपछि खर्च कम लागेको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डाक्टर रामाशङ्कर ठाकुरले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले एक महिना अगाडि मेरुदण्डको शल्यक्रियामा प्रयोग हुने सियाम मेसिन प्रदान गरेको र जिल्लामा रहेका सभासद्हरुले दिएको आर्थिक सहयोगबाट खरिद गरिएको ओटी टेबलको मद्दतमा शल्यक्रिया सफल भएको हो ।
चौधरी चाँडै आफ्नै खुट्टामा हिँड्न सक्ने प्रबल सम्भावना रहेको नारायणी उपक्षेत्रीय अस्पताका हाडजोर्नी विशेषज्ञ डाक्टर रामाशिस ठाकुरले बताए ।
उनले अस्पतालमा रहेका चिकित्सक शास्वतप्रसाद र दिदीप चौरसियाको सहयोगमा चौधरीको शल्यक्रिया गर्न सफल भएको जानकारी दिए । उपक्षेत्रीय अस्पतालमा मेरुदण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि सो रोगबाट पीडित र आर्थिक अभावमा उपचार गराउन नसकिएका तराईमा रहेका बिरामीले कम खर्चमा उपचार पाउने बाटो खुलेको चिकित्सकले बताएका छन् । रासस: