अर्घाखाँची, १९ भदौ ,
अर्घाखाँचीका एचआइभी सङ्क्रमितहरूले सर्बोत्तम पिठो उद्योग सञ्चालन गरेका छन् ।
एचआइभी सङ्क्रमितहरूले दैनिक तथा नियमित रूपमा एचआइभीविरुद्धको औषधि एआरटी खाइरहनुपर्ने हुन्छ । औषधि खानुभन्दा पहिले केही खानेकुरा खाएरमात्र औषधि खानु पर्दछ ।
विगतका दिनमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुबाट एआरटी खानेलाई सर्बोत्तम पिठो निःशुल्क रूपमा वितरण भइरहेकामा अहिले नेपाल सरकारले सर्बोत्तम पिठो दिन छाडेको छ ।
सरकारले पिठो दिन छाडेपछि एचआइभी सङ्क्रमितलाई लक्षित गरी अर्घाखाँची जिल्लामा सर्बोत्तम पिठो उद्योग स्थापना गरिएको हो । ‘सरकारले यसलाई निरन्तरता दिन नसकेपछि हामीहरूले यो उद्योग खोलेका हाँै,’सन्देश सहयोग समूहिकी कोषाध्यक्ष पार्वता बन्जाडेले बताइन् ।
सन्देश सहयोग समूह अर्घाखाँचीले जिल्ला विकास समिति आर्घाखाँची, जिल्ला एड्स समन्वय समिति र सक्रिय सेवा समाजको संयुक्त सहयोग तथा पहलमा जिल्लामा एउटा सर्बोत्तम पिठो उद्योग स्थापना भएको छ । सन्धिखर्क– ६ स्थित उक्त उद्योगको दैनिक रूपमा १५० केजी सर्बोत्तम पिठो उत्पादन गर्ने क्षमता छ ।
उक्त उद्योगबाट उत्पादित सर्बोत्तम पिठो अर्घाखाँचीसहितका पाँच जिल्ला पाल्पा, रूपन्देही, कपिलवस्तु र स्याङ्जामा वितरण भइरहेको छ । रासस: