बाढी प्रभावित सुत्केरी र गर्भवतीलाई एकै ठाउँमा स्याहार I

बाढीपहिरोले घरबार बगाएपछि एकल
महिला संस्थामा बस्दै आएका सुत्केरी
तथा गर्भवती। तस्बिर : मोतीलाल/कान्तिपुर
सुर्खेत, भाद्र १८ -,

बाढीबाट जोगिन दुई दिनको बच्चा काखी च्यापेर रूख चढेकी थिइन्, लेखपराजुल ९ की खगीसरा सुनार। बाढीबाट ज्यान जोगिए पनि घर रहेन। तर उनलाई घरसम्पत्ति बगे पनि आफू र आफ्नो बच्चाको स्याहारमा ठूलो अप्ठ्यारो भने छैन। 

किनभने यहाँस्थित एकल महिला संस्थाले बाढी प्रभावित सुत्केरी तथा गर्भवतीको स्याहान गर्न छुट्टै बस्ने व्यवस्था मिलाएको छ। साउन अन्त्यतिरको बाढीपहिरोले घरबार गुमाएका खगीसराजस्ता सुत्केरीलाई सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा एकल महिला संस्थाले खाना र बस्ने व्यवस्था मिलाएको हो। रूखमा चढेर आफू र आफ्नो काखको नानी बचाउन सफल खगीसराले भनिन्, 'मृत्युको मुखमा पुगेर पनि ज्यान जोगाइयो।' भेरीमा बाढी आएको बेला गर्भवती रहेको घाटगाउँ ८ की मधुरा उपाध्याय घरको माथिल्लो तलामा रहेका बेला बिहान राजीले डुङ्गा लगाएर जोगाएका थिए। 

घर बगेपछि विस्थापित उनी विद्यालयमा बसेको अवस्थामा हेलिकप्टरमा सुर्खेत अस्पतालमा आएको बताइन्। भदौ ३ गते हेलिकप्टरद्वारा उद्धार गरिएकी मधुरा ४ गते सुर्खेत अस्पतालमा सुत्केरी भई अहिले एकल महिला संस्थाको घरमा बसेकी छन्। मधुराले भनिन्, 'विद्यालयमै बसेको भए मेरो र बच्चाको के हाल हुने थियो, यहाँ त राम्रै भएको छ।' इत्राम खोलामा आएको बाढीले घर बगाएपछि विद्यालयमा बसेकी वीरेन्द्रनगर ११ की गर्भवती मनपुरा परियार आफू र आफ्नो कोखमा रहेको बच्चाको सुरक्षाका लागि एकल महिला संस्थामा बस्न आएको बताइन्। भनिन्, 'घर बगेपछि गर्भवती अवस्थामा चिसोमा बस्नु समस्या भएपछि संस्थामा बस्न आएको हो।' 

बाढीबाटै विस्थापित भएकी हरिहरपुर ५ सिस्नेरीकी सुत्केरी महिला विष्णाले पालमा बस्दा बिरामी भएपछि एकल महिला संस्थाको संरक्षणमा आएको बताइन्। विष्णाले भनिन्, 'बाढीले घरखेत केही राखेन, सुत्केरी अवस्थामा विस्थापित हुनुपर्‍यो।' घरबार बाढीले बगाएपछि विस्थापित जिल्लाका सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उनीहरूलाई एकै स्थानमा व्यवस्थापन गरिएको छ। बाढीपहिरोका कारण विस्थापित सुत्केरी र गर्भवतीलाई सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा एकल महिला समूहले बस्ने र खाने व्यवस्था मिलाएको हो। 

एकल महिला समूहकी अध्यक्ष सितलसिंह राठौर बाढीपहिरोबाट विस्थापित भई जंगलमा बसेका सुत्केरी तथा गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर संस्थाले बस्नका लागि घर उपलब्ध गराएको बताइन्। उनले संस्थाले बस्नका लागि स्थान उपलब्ध गराएको र खान तथा लत्ताकपडा र औषधि उपचार सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गरेको बताइन्। एकल महिला संस्थामा जिल्लाका वीरेन्द्रनगर, लेखपराजुल, हरिहरपुर र घाटगाउँ गाविसका गरी ९ जना सुत्केरी र २ जना गर्भवती महिलालाई बस्न, खान र नियमित स्वास्थ्य जाँच गरिंदै आएको एकल महिला संस्थाले जनाएको छ। मोतिलाल पौडेल-इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com