९० % HIV श्रीमानकै कारण सर्छ

रत्ननगर (चितवन), १६ भदौ, 

दीक्षा रिमाल चितवनमा मात्रै होइन नेपालकै परिचित नाम हो । उनी एचआइभी सङ्क्रमित हुन् । अन्जानमै श्रीमान्बाट एचआइभी सङ्क्रमण भएपछि अहिले उनी एचआइभी सङ्क्रमण हुनै नदिने उपाय र भएकालाई ढाडस दिँदै उनीहरुको हेरचाहमा सक्रिय छिन् । 

उनले आफ्नो परिचय लुकाउनु पर्दैन । अहिले जिल्लामा सङ्क्रमितको क्षेत्रमा नमुना काम गर्दै चितवन सक्रिय समूहको अध्यक्ष बनेर बसेकी छिन् । भरतपुरको बाह्रघरे घर भएकी दीक्षाको छोरीको एक वर्षपछि मृत्यु भयो । त्यसपछि लागूपदार्थ प्रयोगकर्ता श्रीमान्को रक्त परीक्षणमा एचआइभी सङ्क्रमण भएको पत्ता लागेको थियोे । परिवारले पछि परीक्षण गराउँदा आफूलाई पनि सङ्क्रमण भएको पुष्टि भएको रिमालले बताइन् । त्यसो त चितवनमा एचआइभी क्षेत्रमा अगुवाइका रुपमा काम गर्दै आएकी अर्की नाम नबताउने महिला पनि अन्जानमै सङ्क्रमित हुनुप¥यो । यी दुई घटना एउटा उदाहरणमात्रै हुन् । तथ्याङ्क हेर्दा श्रीमान्कै कारण अन्जानमै धेरै गृहिणी एचआइभी सङ्क्रमित हुने गरेको देखिएको छ । 

जिल्लामा अहिलेसम्म गरिएको अध्ययनमा सङ्क्रमित महिला ९० प्रतिशत जति श्रीमान्कै कारण अन्जानमै सङ्क्रमित हुनुपरेको रिमालले बताइन् । नियमित औषधि नलिँदा धैरैजसोका श्रीमान्को मृत्युसमेत भइसकेको छ । नियमित औषधि सेवन गर्दा एचआइभी सङ्क्रमित पनि लामो समयसम्म बाँच्न सक्छन्, यो पनि अन्य रोग जस्तै हो भनेर दरिलो उदाहरण दीक्षा रिमाल नै हुन् । “एचआइभी लाग्नै नदिने पहिलो काम हो । यदि सङ्क्रमण भइहालेमा पनि नआत्तिन सबैसँग आग्रह गर्छु ।” उनले भनीन् । 

केही वर्षअघिसम्म लागुऔषध प्रयोगकर्ताबाट बढी सङ्क्रमण हुने गरेकामा अहिले विभिन्न देश विदेशमा गएर आएका पुरुषबाट सङ्क्रमण बढिरहेको पाइएको एचआइभीको क्षेत्रमा लामो समयदेखि काम गरेका जिविस चितवनका सामाजिक विकास शाखा अधिकृत रामहरि न्यौपानेले बताए । विसं २०६४ बाट चितवनको भरतपुर अस्पतालमा मात्रै एआरटी सेवा सुरु गरिएको थियो । २०६४ सालदेखि अहिलेसम्म भरतपुर अस्पतालबाट कुल एक हजार ४४ जनाले उक्त सेवा लिएको कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताए । चितवनमा एक हजारभन्दा बढी एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com