कविता 'आमाको अनुहार ' By, राई रुमानी
जब खस्यो,
यो आँखाको नुनिलो दहमा
एउटा सग्लो उज्यालो जून
त्यही दिनदेखी हो
मैले प्रष्ट चिनेको
आमाको अनुहार ।
यो त्यही अनुहार हो
मेरी आमाको अनुहार
जहाँबाट मैले,
अलिकती घामको उज्यालो चोरें
र, आँखामा भरें ।
यही अनुहार हो
मेरी आमाको अनुहार
जसको प्रेरणाले,
जीवनमा पहिलो चोटि मुस्कुराउँन सिकें
हाँस्न सिकें
र, रुन सिकें ।
यही अनुहार हो
मेरी आमाको अनुहार
जसले मलाई आँसु चिनायो
मुस्कान चिनायो
र, चिनायो जीवनको घामपानी ।
यो अनुहार
मेरी आमाको अनुहार
जो हिमाल झैं उच्च छ
जो पहाड झैँ दृढ छ
र, छ तराई झै फाँटिलो
र, माटो झैं गर्विलो/सुवासिलो ।
वास्तवमा,
माटो भन्नु नै त देश रहेछ
र, देश भन्नु नै आमाको अनुहार ।
अझै याद छ,
पछिसम्म-
मेरी आमासित ईत्रिदै भन्नु हुन्थ्यो बुवा
यो " कोप्चे भिर " मा घाम कहिल्यै नलाग्नेरहेछ
सायद अपेक्षा हुन्थ्यो भर्जिन प्रेमको
या त,
त्यो थियो एउटा नमिठो थकथक
मेरी आमाको सौन्दर्य
अनायासै गायव हुनुको पिडानुभुती
जो,
मेरी आमाले मलाई
उहिल्यै हस्तान्तरण गरिसकेकी थिइन्
उपहार स्वरुप जीवनका रंगहरु ।
जब खस्यो,
समयको निलाम्मे दहमा
छिप्पिदै गरेको उमेरको ढुङ्गा
र, तरङ्गियो एउटा सग्लो उज्यालो जून
सतहमा किरिङमिरिङ् मुँजाहरु ।
यतिखेर,
जीवनको सुदूर रेगिस्तानबाट
म सम्झिरहेछु
मेरी आमाको मुँजैमुँजा अनुहार ।