गजल By, कोमल भट्ट



गजल By, कोमल भट्ट

आफन्त सबै,पहिरोले लग्यो,टुहुरा रुँदै छन् 
 बिजोकै देख्दा,देउराली पाखा,ढिस्कुरा रुँदै छन्

बस्ती नै बग्यो,रहेन केही गाँस बासै हरायो
 बाँच्नेको पनि,होस् हवास छैन,वेसुरा रुँदै छन्

खोलामा डुबे,मायालु आफ्नै,आँखाको अगाडि
तीजलाई भनी,किनेको पोते र चुरा रुँदै छन्

खोसिए सारा,सहारा अब,शून्य भो संसार
भरोषा गुम्दा,निर्बल हुँदै,पाखुरा रुँदै छन्

घरैमा पस्यो,विभत्स काल,अंठ्यायो घाँटीमै
मारेरै छाड्यो,विचरा तिन्का,कुटुरा रुँदै छन्

कसरी गर्यो ? हे ! दैव त्यस्तो,निर्दयी प्रहार
शायदै ऐले,तिम्रा ती खन्जर,र छुरा रुँदै छन्

चिम्लेर आँखा,नबस सरकार यो दुखद वेलामा
हजारौँ घाइते,जवान,बृद्ध र भुरा रुँदै छन्

सकेको मदत गरौं है साथी,सद्प्रेम छरेर
खोजेर आज,'कोमल' मायाँ,बबुरा रुँदै छन्

कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका
भाद्र १४,२०७१

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com