बोक्सीको आरोपमा आफन्तले नै गरे निर्घात कुटपिट I

सप्तरी भाद्र ३,

कथित बोक्सीको आरोपमा सप्तरीको मलेकपुर गाविसमा एक दलित महिलालाई आफन्तजनहरुले कुटपिट गरेका छन् । जेठाजु कमल मरिक (डुम), उहाँका छोरा विनोद र दिलीपलगायतले बोक्सी भन्दै मलेकपुर गाविस–४ निवासी २३ वर्षीया रामकुमारी मरिक (डुम)लाई निर्घात कुटपिट गरेका हुन् ।

आफन्तहरुको कुटपिटबाट गम्भीर घाइते भएकी रामकुमारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आफ्ना श्रीमान् रुदल मरिक कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न गएको मौका छोपी सोमबार साँझ जेठाजुसहित उनका छोराहरुले आफूलाई निर्घात कुटपिट गरेको अस्पतालमा उपचार गराइरहेकी रामकुमारीले बताइन् ।

जेठाजुको छोरी एक वर्षदेखि बिरामी हुने गरी टुनामुना गरेको आरोप आफूमाथि जेठाजुले लगाउने गरेको गुनासो रामकुमारीको छ । बोक्सी भन्दै गालीगलौज र कुटपिट गर्नेहरुविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरिरहेको रामकुमारीका श्रीमान् रुदनले बताए । यता सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए । - रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com