कुपोषणबाट बालबालिकालाई बचाउन व्यापक जनजागरण अभियान I

वीरगन्ज, ३ भदौ ।,

कुपोषणबाट बालबालिकालाई बचाउनका लागि पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिने सम्बन्धमा व्यापक जनजागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामाथि सरोकारवालाहरुले जोड दिएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) नेपालको सहयोगमा जिल्ला विकास समिति पर्साद्वारा आयोजित ‘बहुक्षेत्रीय पोषण योजना’ विषयक एक दिने जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा उनीहरुले कुपोषणबाट बालबालिकालाई बचाउन बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । यसका लागि सम्बन्धित पक्षहरुबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा समेत उनीहरुले जोड दिए । 

सो अवसरमा युनिसेफ नेपालका प्रमुख डा साबा माब्रातोले बहुक्षेत्रीय पोषण योजनाको उद्देश्य तथा उपलब्धि, युनिसेफ नेपाल क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख पुरुषोत्तम आचार्यले नेपाल सरकार तथा युनिसेफ नेपालको साझेदारीमा सन् २०१३ देखि २०१७ सम्मको साझेदारीबारे, युनिसेफ नेपालका पोषण कार्यक्रम प्रमुख प्रद्युम्न दाहालले बहुक्षेत्रीय पोषण योजनाको विकासक्रम तथा अनुमोदन, युनिसेफ नेपालका अधिकृत अनिरुद्र शर्माले बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत विभिन्न तहमा गठित समितिहरुको योजना तर्जुमा, समन्वय र अनुगमनमा भूमिका तथा उत्तरदायित्व र जिल्ला विकास समिति पर्साका स्रोत व्यक्ति शम्भुप्रसाद कुशवाहाले अगामी योजना र त्यसको कार्यान्वयनको प्रभावकारिता विषयमा छुट्टाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए । 

महिला तथा बालबालिकाको विकास सूचकाङ्कका आधारमा पर्साका अति विपन्न सातवटा गाविसमा गत वर्षदेखि बहुक्षेत्रीय पोषण योजना लागू भएको छ । यो योजना लागू भएका गाविसमा बागवन्ना, पञ्चरुखी, उदयपुरघुर्मी, हरपुर, गम्हरिया, मधुवनमथौल र बसडिल्वा रहेको जनाइएको छ । सो अवसरमा पर्साका स्थानीय विकास अधिकारी दिलीपकुमार चापागाईंले पोषणयुक्त नागरिक उत्पादनका लागि विशेषगरी आफ्नो खानपिन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले परिवार, समाज र राष्ट्रको सामाजिक तथा आर्थिक विकासका लागि पोषणयुक्त स्वस्थ्य नागरिक उत्पादन गर्ने कार्य सबैको दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि नेपाली पत्रकारिताले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक दलका तर्फबाट नेकपा संयुक्तका जिल्ला अध्यक्ष रामराज जयसवाल र गैरसरकारी संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष इब्राहिम देवानले जिल्लामा सञ्चालित साक्षरता, सरसफाइ र पोषण कार्यक्रमलाई एकीकृत योजना बनाएर गाउ“गाउ“ र टोलटोलमा पु¥याउनुपर्ने बताए । 

कार्यक्रममा जिल्लास्थित शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, पशु र महिला तथा बालबालिका कार्यालयका प्रमुख र सो कार्यक्रमका स्रोत व्यक्ति, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाविस सचिव र सञ्चारकर्मीहरु गरी करिब ४५ जनाको सहभागिता रहेको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com