सदरमुकाम दिक्तेलमा आँखा उपचार केन्द्रको उद्घाटन I

खोटाङ, ६ भदौ ,

खोटाङको सदरमुकाम दिक्तेलमा निर्माण गरिएको आँखा उपचार केन्द्रको भवन बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

हङकङमा रहेका खोटाङ्गेले स्थापना गरेको खोटाङ समाज हङकङले रु ३० लाख ४७ हजारको लागतमा निर्माण भएको डेढ तलाको पक्की भवनको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले  उद्घाटन गरेका हुन् ।

जिल्लाका आँखा रोगीको उपचार जिल्लामै गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ नेपाल नेत्र ज्योति सङ्घ शाखा खोटाङको आग्रहमा भवन निर्माण गरिदिएको समाजका अध्यक्ष अधिराज राईले बताए ।

उनले भने–“भवन अभावमा जिल्लाका बिरामीले धेरै दुःख पाएको खबर पायौँ, त्यसलाई समाधान गर्ने उद्देश्यका साथ हङकङमा बस्ने खोटाङ्गेबाट प्रतिव्यक्ति ५०० देखि १५ हजार हङकङ डलर उठाएर भवन निर्माण गरिदिएका हौँ ।”

जिल्ला अस्पतालले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्पताल परिसरमै समाजले केन्द्रको भवन निर्माण गरी दिएको हो । पाँच महिनाभित्र निर्माण पूरा भएको भवनको साँचो समाजका अध्यक्ष राईले नेत्र ज्योति सङ्घका अध्यक्ष पुष्पशङ्कर विश्वकर्मालाई हस्तान्तरण गरे ।

चौधरी आँखा अस्पताल लहानको सहयोगमा २०६१ वैशाख १५ गतेदेखि भवन अभावमा जिल्ला अस्पतालको एउटा कोठाबाट सञ्चालन हँुदै आएको केन्द्रको भवन निर्माण भएपछि आँखा रोगीलाई सहज रूपमा सेवा प्रदान गर्न सकिने केन्द्रका प्रमुख हरिहर श्रेष्ठले बताए ।

यसअघि भवन अभावमा प्रभावकारी उपचार हुन नसक्दा जिल्लाका आँखा रोगी ठूलो मात्रामा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता थियो ।

यसैबीच मृत श्रीमान् धनमानसिं विश्वकर्माका सम्झनामा दिक्तेल–२ की समाजसेवी गीता शङ्करले रु दुई लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्ने आँखाका रोगीका लागि सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको गीताले बताइन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com