तीज पर्व र महिला आन्दोलन I

युगौंदेखि रुढीवादी, अन्धविश्वासले महिलाहरुलाई जकडाइरहेको छ, त्यस माथि पनि नयाँ–नयाँ फेशनहरुका कारण धार्मिक विश्वास बोकेको हिन्दु सांस्कृतिक पर्व तीज झनै महंगो बन्दै गइरहेको छ अहिले । यसले भविष्यमा यो पर्वकै कारणले नारीहरु माथि अझै नकारात्मक पीडाहरु भोग्नु पर्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । 

हिन्दु धर्म संस्कृति अनि हिन्दु नारीहरुको ताजको रुपमा रहेको हरितालिका तीजमा विस्तारै पश्चिमा शैली हावि हुदै गइरहेको छ । कसैले हेरोस्-नहेरोस्, नाच राम्रो होस् नहोस सुर न तालका छाडा गीत बजारमा भित्रिएका छन् हाउभाउ, अभिव्यक्ति, शैली मिलोस्-नमिलोस्, उफ्रिरहेकै देखिन्छन् । नाच्ने शैलीमा पनि फरकपना आउँदै छ । दर खाने भनेर तीज आउनुभन्दा दुई महिना अघिदेखि देखासिकी गर्दै ठूला ठूला पार्टी प्यालेसमा तीजको दर खाने परिपाटीले विस्तारै ठाउँ लिँदै गइरहेको छ भने सकी नसकी आकाश छुदो गर गहनाको तडकभडक देखिनसक्नुको छ । 

धर्म र परम्परासँग जोडिएका थुप्रै चाडपर्वहरु हाम्रो समाजमा स्थापित छन् । ती मध्ये तीज पर्वलाई नेपाली महिलाहरुले एक महान् पर्व का रुपमा मनाउँदै आइरहेका छौं । तीजको अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरुले आफूहरुमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रुपमा पोख्ने प्रचलन छ । संस्कार, रितिरिवाज र संस्कृतिको नाउमा कतिपय चाडवाडहरुमा हावी प्रचलनहरु रुढीवाद र अन्धविश्वासलाई महिलाहरु माथि जवरजस्ती थोपर्ने पुरुषवादी समाजको प्रपोगाण्डा भएको मान्न सकिन्छ । जसको फलस्वरुप कृष्ण अष्टमी, तीज र पञ्चमीको व्रत बस्ने र व्रत बसेमा विवाहित महिलाहरुको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरुले राम्रो र धनी श्रीमान पाइने जस्ता कुसंस्कारबाट नेपाली महिलालाई ग्रसित पारिएको छ । 

अर्कोतर्फ तीजलाई माइत जाने, मिठो खाने राम्रो लुगा र गहना लगाउने चाडको रुपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने राम्रो लुगा, गहना लगाउनु पर्ने प्रचलनको गलत अर्थ लगाउदै गरिने तडकभडक आज समाजमा तीज पर्व विकृतिको रुपमा स्थापित हुनुको प्रमुख कारक बनेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौँदेखि माइती नगएका महिलाहरु पनि माइत जान पाउने स्वतन्त्रता माथि नै ग्रहण लाग्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन । हामी प्रवासमा रहेका नेपाली चेलीहरुले पनि आ–आफ्नै तरिकाबाट तीज मनाउने गर्दछौं । अतिनै कामको व्यस्तताको बाबजुद पनि एक दिनको बिदा मिलाएर सबै दिदी बहिनी एक ठाउँमा जम्मा हुन्छौं र मिठा मिठा नेपाली परिकार (दर) खाने गरिन्छ । बिसेष गरेर हामी इजरायल बासी नेपाली चेलीलाई हाम्रा नेपाली दाजु भाइहरुले खाजा खुवाउने गर्नुहुन्छ देश र आफन्तदेखि बिछोडिनु पर्दाको दुःख, पिर, बेदनालाई गीतको माध्यमबाट पोख्ने गरिन्छ । 

इजरायलमा पनि महिलाहरु तीजको दिन रातो सारी र छड्के तिलहरीमा झप्पक गहना लगाएर निकै उत्साहित हुँदै नाच्ने र गाउने गरेको देख्न पाईन्छ । तेलअविवको लेवेन्स्की पार्कमा सम्पूर्ण महिला दिदी बहिनी भेला भएर एक आपसमा शुभकामना साटा साटा गर्दै खुशी र आत्मियता बाँडेको देख्दा यो कुनै प्रवासको भुमी नभएर आफ्नै मातृभूमी नेपालनै हो कि जस्तो भान हुन्छ । त्यस्तै कैयौं चेलीहरुले यहाँ पनि दिन भर पानीको थोपासम्म नपिएर आफ्नो श्रीमानको लामो आयु तथा कुमारी चेलीले राम्रो जीवनसाथी पाउँ भनेर व्रत बस्ने गर्नु हुन्छ । अनि दिनभरीको व्रत बेलुका आफ्नो श्रीमानको जल (खुट्टा धोएको पानि) खाने । यसले नारी–पुरुष समान हो भन्ने समुन्नत नेपाल निर्माणको गहकिलो नारालाई नै ओझेल पारिरहेको देखिन्छ भने यहि महिलाहरुको अन्धविश्वासले महिलामाथि पुरुष हावी हुने बातावरण निर्माण गरिरहेको हुन्छ । तसर्थ यस्ता रुढिवादी र अन्ध बिस्वासलाई हामी महिलाहरुले नै हटाउनु पर्दछ । 

आफ्नो हक र अधिकारको लागि आवाज उठाउन अतिनै जरुरी छ । महिलाहरूले यस चाडलाई पुरानै तरिकाले मनाउनुभन्दा पनि अधिकार प्राप्तिका लागि सहयोगी बनोस् भन्ने तरिकाले मनाउँदा उचित देखिन्छ प्रगतिशील महिलाले यस चाडलाई रचनात्मक तरिकाले मनाउनका लागि अधिकतम प्रयत्न गर्नु पर्छ पञ्चायत कालीन कालरात्रीका समयमा पनि महिलाहरूले यसलाई पञ्चायी तानाशाही व्यवस्थाको अन्त्य गर्न सहयोगी होस् भन्ने तरिकाले तीज मनाउने गर्थे देशमा जताततै बेथिति छ । जनता महङ्गीको मारले छटपटाएको छन् । भ्रष्टाचार, लुटतन्त्र मौलाएको छ चेलीबेटी स्वदेश तथा विदेशमा बेचिन बाध्य भएका छन् । 

नेपाली दाजुभाइ तथा दिदीबहिनीले विदेशमा कौडीको भाउमा पसिना बेच्न बाध्य छन् देश निर्दलीयतामा चलेको छ । अराजकता र दन्डहीनता उत्तिकै छ देशमा संविधानविहीनता छ । जातिवाद, क्षेत्रीयतावादको आगो बलेको छ । राज्यलाई चिरा पार्न देशद्रोहीहरू लागेका छन् । मुलुकको यस्तो भयावह स्थिति रहँदा महिलाहरूका गीत, नाचल यी सन्दर्भहरूलाई उठान गर्नु आवश्यक छ, केवल छाडा शैलीका गीत, नाचहरू, व्यक्तिगत लाभ, आकाङ्क्षा र कसैका भजन कीर्तनहरू गाउने अवस्था हैन यो । पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनले महिलाहरुका पक्षमा केही महत्वपूर्ण उपलब्धीहरु दिएको छ । ती उपलब्धीहरुलाई संस्थागत गर्ने र त्यसैको जगमा टेकेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । 

जे जति अधिकारहरु कागजी रुपमा सीमित छन् ती नेपाली महिलाहरुले उपभोग गर्न पाएका छैनन् । ती अधिकारहरुलाई व्यवहारमा लागु गर्न र परम्परावादी समाजलाई चुनौती दिनको लागि सीमित उपलब्धीहरुको संरक्षण र उपभोग गर्दै अधिकार सुनिश्चितताका लागि संघर्ष गर्दै अगाडि बढ्नु पर्दछ , त्यसले नै नेपाली महिलाहरुले मनाउने तीज पर्वलाई मात्रै नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ आयाम दिनेछ । आफ्नो लोक संस्कृतिको जगेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलोको रुपमा लिनु पर्छ चाडको नाममा महंगा गर गहना लत्ता कपडा लगाएर तीजलाई बिकृतिको रुममा नल्याऔं । 

हामीले तीजपर्वले बोकेको रुढीवादी परम्पराको विरुद्धमा संघर्ष गर्दै सामन्ती पुरुषप्रधान, सामाजिक संरचनाको विरुद्धको आन्दोलनको रुपमा यस चाडलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । अन्त्यमा आफ्नो सस्कृतिको जगेर्ना गर्दै नजिक आइरहेको तीज पर्वलाई बिकृतिको रुपमा हैन सरल तरिकाले मनाऔं भन्दै सम्पूर्ण देश तथा बिदेशमा रहनुहुने दिदि बहिनि तथा दाजु भाइलाई हरितालिका तीजको सुभकामना दिन चाहन्छु । (लेखिका बैदेशिक रोजगारको लागि इजरायलमा छन् ।) 

कल्पना पौडेल 'जिज्ञासु' 
 नवलपरासी, 
हाल इजरायल

 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com