काठमान्डू श्रावन २४,
सुनकोशी नदी थुनिने गरी खसेको पहिरोबाट पीडित र विस्थापितहरूका लागि राहत दिन ओइरो लागेको छ । राजनीतिक दल, गैरसरकारी संस्था, सहकारी, निर्माण व्यवसायी सङ्घ, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घलगायत झन्डै ४५ वटा संस्थाले नगद र जिन्सी सहयोग गरेको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।
राहत उपलब्ध गराउने राजनीतिक दलतर्फ नेकपा (एमाले) निकट युवा सङ्घ नेपालबाट रु दुई लाख ५० हजार, एमाओवादी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकले रु एक लाख ८४ हजार ३१९, नेपाली काँग्रेस निकट नेपाल तरुण दल सिन्धुपाल्चोकले रु एक लाख ४६ हजार ४००, एमाले निकट अनेरास्ववियुबाट रु एक लाख २ हजार १२५ प्रदान गरिएको छ ।
यसैगरी एनसेल कर्मचारी ट्रेड युनियनबाट रु १० लाख, सभासद् शेरबहादुर तामाङबाट रु ५० हजार, विश्व हिन्दू महासङ्घबाट रु ५० हजार, नाइल बचत तथा ऋण सहकारी संस्थाबाट रु ५७ हजार ५००, नुवाकोट होटेल व्यवसायी सङ्घबाट रु एक लाख ५ हजार ५०० गरी कुल रु १८ लाख ५८ हजार १५५ नगद सङ्कलन भएको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी तथा राहत व्यवस्थापन उपसमितिका संयोजक युवराज कट्टेलले पीडितहरूलाई चार तहमा वर्गीकरण गरेर राहत उपलब्ध गराइएको उल्लेख गर्दै पहिलो चरणमा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको बताउनुभयो ।
उहाँले राहतका लागि सङ्कलन भएको नगद रकम पुनःस्थापनाका लागि खर्च हुने जानकारी दिँदै पीडितले राहत पाउँछन् कि पाउँदैनन् भन्ने कुरा चुनौतीपूर्ण हो भन्नुभयो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले राहतका लागि सङ्कलन भएको रकमको अभिलेखीकरण हुने जानकारी दिँदै वास्तविक पीडितका लागि रकम खर्चिने बताउनुभयो ।
उहाले जति नगद राहत सङ्कलन भएको छ त्यति नै मात्रामा जिन्सी सामग्री सङ्कलन भएको छ भन्नुभयो ।
अहिलेसम्म रु ४० हजारका दरले किरिया खर्च बुझ्ने १३० जना, घर क्षति खर्च बुझ्ने तीन जना र राहत सामग्री बुझ्ने ४२९ जना रहेको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।
अहिले पनि त्यहाँको लामोसाँघु भन्ने स्थानमा निजी सङ्घसंस्थाले राहत प्रदान गर्ने कार्य जारी राखेका छन् । सिन्धुपाल्चोक जिल्लाको माङ्खा, राम्चे र टेकनपुर गाविसमा १७ गते राति सुनकोसी नदी थुनिने गरी पहिरो गएको थियो । सो घटनामा ३३ जनाको शव फेला परेको थियो भने १२३ जनालाई स्थानीय प्रशासनले मृत घोषणा गरेको थियो ।
by, nepalbritain.com