अहा ! तीज आएछ चेली रमाए
फुले फूल बेली,चमेली रमाए
झुम्यो आँगनी नै,सुवासी बनेर
हँसाएर धर्ती,जुनेली रमाए
पुगे माइतीमा,भयो हर्ष बर्षा
पुराना र प्यारा,सहेली रमाए
धरी रत्न नाना,भए उर्वशी झैं
लगाए लुगा नागबेली रमाए
परे लट्ठ जम्मै,पखेरापखेरी
मिजासी स्वरैमा,जुरेली रमाए
उ भन्दा उ राम्री,बने ठाँट्टिएर
अनेकौँ मिठा खेल खेली रमाए
बजे जोर मादल,निकै घन्किएर
भए नाच गाना,रतेली रमाए
अँधेरी हरायो,गयो खिन्न मन्को
उज्यालो छरेरै,उजेली रमाए
बिलाए कतै भावनाका मुहान
कतै सिर्जनाका,सुसेली रमाए
सधैँ स्वच्छ हुन्छन्,सबै चाड हाम्रा
खुसीले मनाऔं,बयेली रमाए
(भुजङ्गप्रयात छन्द ) ६ अक्षरमा विश्राम
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका