इज़रायल गाजाबिचको युद्धमा, गाजा तर्फ मर्ने संख्या ४ सय नाघ्यो I

इजरायली आक्रमण जारी रहँदा आइतबार ज्यान
बचाउन प्यालेस्टाइन अधीनस्थ गाजाको सुजया
सहरबाट सुरक्षित स्थलतर्फ जाँदै सर्वसाधारण ।
तस्बिर: रोयटर्स/रासस :

गाजासिटी श्रावण ५,

गाजामा इजरायलले आइतबार ५ वर्षयताको सबैभन्दा ठूलो आक्रमण गरेको छ । अहिलेसम्म त्यस क्षेत्रमा मृत्यु हुनेको संख्या ४ सय नाघेको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 
स्वास्थ्य उपमन्त्री युसेफ अबु रिसले हालसम्म ४ सय १० जनाको मृत्यु भएको र ३ हजार २० घाइते भएको बताए । मृतकमध्ये अधिकांश निहत्था सर्वसाधारण रहेको उनले बताए । 

स्वास्थ्यकर्मीहरूका अनुसार आइतबार सबैभन्दा बढी मृत्यु गाजा नगर तथा इजरायली सीमाबीचको सेजाइयामा भएको छ । त्यहाँ शनिबार रातिको बम आक्रमणमा परी ५० भन्दा बढीको मृत्यु भएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को आह्वानपछि दुवै पक्ष २ घन्टाका लागि मानवीय युद्धविराममा सहमत भएका छन् । युद्धविराम अवधिमा एम्बुलेन्सहरू चिकित्सकसहित सेजाइयामा प्रवेश गरी ३ वटा शव उठाएका छन् । युद्धविराम सकिएलगत्तै हतियार चलेको आवाज सुनिएको थियो । हमासले आक्रमण गर्न नछाडेकाले प्रतिकार गरिएको इजरायली सेनाको दाबी छ ।

इजरायली आक्रमण जारी रहँदा गाजाको पूर्वी सिजाया जिल्लाका हजारौं बासिन्दा आइतबार भागेर सुरक्षित स्थलतिर गएका छन् । भीषण गोलाबारीबाट ज्यान बचाउन उनीहरू सहरबाट पैदल निस्केका हुन् । बमवर्षामा परी स्थानीय सञ्चारकर्मीहरू पनि मारिएका छन् । प्यालेस्टाइनको आकस्मिक सेवाका प्रवक्ता आजराफ अल क्युद्राले सिजाया सहरबाट २० जनाको शव निकालिएको र सयौं घाइते भएको जानकारी दिए । लडाकु समूह हमासविरुद्ध स्थल आक्रमण तीव्र बनाइएको इजरायलले जनाएको छ । इजरायली सेनाका अनुसार थप बल त्यस क्षेत्रमा पठाइएको छ । हवाई आक्रमणमा आइतबार ४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ, जसमा हमासका एक वरिष्ठ अधिकारीका छोरा पनि छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आइतबार कतारको राजधानी दोहा पुगेका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग समेत वार्ता गर्ने उद्देश्यले उनी मध्यपूर्वको भ्रमणमा निस्केका हुन् । उनको भ्रमणको उद्देश्य हो, इजरायल र हमासबीच जारी युद्ध रोक्नु र भविष्यको मार्ग पहिल्याउनु । दोहाबाट उनी कुवेत, जेरुसेलम र रमल्लाह हुँदै जोर्डनको अम्मान पुग्नेछन् । दोहामा उनले हमास समर्थक नेताहरूसँग भेट्ने कार्यक्रम छ । मुनसँग भेट्न प्यालिस्टिनी राष्ट्रपति अब्बास पनि दोहा जाँदैछन् । हमासका निर्वासित नेता मालिफ मेसाल दोहा मै बस्दै आएका छन् । इजिप्टले राखेको युद्धविरामको प्रस्ताव हमासले अस्वीकार गरेको छ । फ्रान्सले इजिप्टको प्रस्तावप्रति समर्थन जनाएको छ । एएफपी/बीबीसी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com