तानसेन श्रावन ८,
नेपालको पहाडी भेगमा बहुमूल्य जडीबुटीको संरक्षण गर्ने उपयुक्त निकाय नभएका कारण बर्सेनि मूल्यवान्् जडीबुटी विनास हँुदै गएका छन् ।
जङ्गलमा पाइने बहुमूल्य जडीबुटीको आयुर्वेदिक औषधि बनाई राज्यले राम्रो आम्दानी गर्न सक्ने सम्भावना भए पनि यसको उचित रेखदेख गर्ने निकाय नभएका कारण बर्सेनि यस्ता जडीबुटी विनास भएको पाइन्छ ।
पाल्पा जिल्लाका सामुदायिक वनबाट टिमुर, चिराइतो, सिकारी लहरा, काउलो, सौर, भकाइनो, हर्रोबर्रो, अमला, पाखनबेत, पानी अमलालगायतका महत्वपूर्ण जडीबुटी रुपन्देही जिल्लामा अवैधरुपमा निकासी हुने गरेको छ ।
सामुदायिक वनले यी जडीबुटीबाट राम्रो आम्दानी गर्ने भए पनि हालसम्म दालचिनीबाट मात्र केही आम्दानी लिने गरेकोे सामुदायिक वन महासङ्घ पाल्पाका सचिव श्रीकृष्ण आत्रेय बताउछन् ।
जिल्लामा सामुदायिक वनका जडीबुटीलाई प्रशोधन गर्न सकेको अवस्थमा रोजगारी सिर्जना गर्न सकिने र यसको औषधिबाट वनले वाषिृक करोडौँ आम्दानी गर्नसक्ने सम्भावना रहेको भए पनि त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको सचिव आत्रेयको भनाइ छ ।
जिल्लामा ६२४ वटा वन समुदायमा हस्तान्तरण भए पनि विपन्न समुदाय वर्गले वनबाट कुनै प्रकारका सेवा सुविधा र आम्दानीको स्रोत जुटाउन सकेका छैनन् ।
“जिल्लामा उत्पादित जडीबुटीलाई प्रशोधन गर्नसकेको अवस्थामा सयौँ युवाले रोजगारी पाउने थिए, सरकारको यसतर्फ ध्यान जाओस्,” सचिव आत्रेयको भनाइ छ । वनबाट दालचिनी खरिद गर्नेहरूले मात्र सामुदायिक वनमा पैसा दिन्छन्, अन्य वनबाट लुकछिपी जडीबुटी निकासी गरी केही व्यक्तिले मात्र आम्दानी गरेको पाइन्छ । रासस: