काठमाडौँ श्रावन ८,
नेपाल स्वास्थ्य स्वयम्सेवी सङ्घले स्वास्थ्य स्वयम्सेवीलाई विशेष प्रोत्साहन स्वरुप वार्षिक भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घकी महासचिव गीता थिङले प्रत्येक महिला स्वयम्सेवीलाई प्रोत्साहन स्वरुप वार्षिक भत्ता रु २४ हजार उपलब्ध गराउनुपर्ने बताइन् ।
सङ्घले स्वयम्सेवीलाई स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने, पोसाक भत्ताको वृद्धि गर्नुपर्ने, महिला स्वास्थ्य स्वयम्सेवीसम्बन्धी नीति, नियम तथा निणर्य गर्नुपर्दा स्थानीय तहदेखि केन्द्रीय तहसम्म स्वयम्सेवी सङ्घको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।
स्वास्थ्य स्वयम्सेविका बिरामी हुँदा सबै सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिनुपर्ने महासचिव थिङको भनाइ छ ।
देशभरि हजारौँको सङ्ख्यामा रहेका महिला स्वयम्सेवीले सुरुवातमा केही निश्चित स्वास्थ्य क्रियाकलापमा सुरु गरेको यो सेवा हाल भिटामिन ए खुवाउने, पोलियो थोपा खुवाउने, आइरन चक्की खुवाउने र बालरोगलगायत ८१ प्रकारका आधारभूत सेवा जनताको घरदैलौमा पु¥याउँदै आएका छन् । रासस: