मेलबर्नश्रावन १०,
दक्षिण अफ्रिकाको बन्दगरगाह सहर डर्बानमा २१ औँ विश्व एड्स सम्मेलन गर्ने निर्णयका साथ २० औं विश्व एड्स सम्मेलन अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा चारदिनदेखि जारी २० औं एड्स सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
सोही सम्मेलनले २१ औं सम्मेलन दक्षिण अफ्रिकाको डर्बानमा हुने निर्णय गरेको हो ।
मेलबर्न सम्मेलनले सन् २०१६ मा दक्षिण अफ्रिकाको डर्बान सहरमा सो सम्मेलन हुने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।
एड्स सम्मेलनमा विश्वमा फैलिइरहेको एचआईभी एड्सको सङ्क्रमणलाई कमगर्ने उपायहरुका साथै विभिन्न देशमा यो रोग नियन्त्रणका लागि अपनाइने उपाय र अबलम्बन गरिने नीतिकका बारेमा छलफल र बहस हुने गर्दछ ।
एचआईभी एड्सको विश्व सम्मेलनमा यसको उपचार विधिमा भइरहेको प्रगतिका साथै आगामी दिनमा यसको औषधि उपचारका सम्भावनाहरुका बारेमा वैज्ञानिकहरुका बीचमा छलफल भएको थियो ।
सो सम्मेलनमा कम्तीमा पनि २० हजार व्यक्तिको सहभागिता थियो । उक्त सम्मेलनमा यस सङ्क्रमणका संक्रमितका साथै यसमा काम गरिरहेका विश्वका विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
सन् १९८१ मा यो रोगको पहिलो सङ्क्रमण देखिएको हो । त्यसयता यसबाट कम्तीमा पनि सात करोड ८० लाख नागरिक सङ्क्रमित भइसकेका छन् ।
राष्ट्रसङ्घीय एड्स कार्यक्रमले दिएको जानकारीअनुसार विश्वमा यो सङ्क्रमणका कारण तीन करोड ९० लाख नागरिकको ज्यान गइसकेको छ ।
सन् २०१३ मा मात्र तीन करोड ५० लाख नागरिक यो सङ्क्रमणबाट सङ्क्रमित भएर बाँचिरहेका छन् । ती मध्ये अधिकांश नागरिक अफ्रिकाका रहेका छन् ।
राष्ट्रसङ्घीय एड्स कार्यक्रमले दिएको जानकारीअनुसार विश्वमा एचआईभी सङ्क्रमणबाट बाँचिरहेका करिब साढे तीन करोड नागरिकमध्ये ७१ प्रतिशत नागरिक उप सहारान क्षेत्रका नागरिक रहेका छन् ।
गत वर्षमात्र लिइएको एक तथ्याङ्कअनुसार विश्वका १३ प्रतिशत सङ्क्रमित नागरिकहरुले मात्र एचआईभी एड्स सङ्क्रमणको दर कमगर्ने र आयु बढाउने औषधिमा पहूँच पाएका छन् ।
ती नागरिक कम आय भएका र मध्मवर्गीय परिवारका नागरिक रहेका छन् । उनीहरुमा यो औषधिमा पहुँच नपुगेको पनि समाचारमा जनाइएको छ ।
विश्वमा सङ्क्रमित भएका ती नागरिकमध्ये २८ प्रतिशत नागरिक यो औषधि प्राप्तिको लागि विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र परिसकेका पनि समाचारमा जनाइएको छ । रासस/एएफपी :