मेसिका लागि कडा परीक्षा I

रियो दे जेनेरियो आषाढ २९,

लियोनल मेसी लगातार चारपटक फिफा वर्ष खेलाडी बने। उनले क्लबस्तरमा थुप्रै कीर्तिमान पनि बनाए। राष्ट्रिय टोलीलाई उनले ठूला सफलता भने दिलाउन सकेका छैनन्। त्यसैले विश्व फुटबलका महान् खेलाडीको सूचीमा उनलाई पेले र म्याराडोनासँगै राख्न नहुने तर्क पनि धेरै सुनिन्छ। 

विश्वकप जितेमात्र २७ वर्षीय मेसी पेले र म्याराडोनाको श्रेणीमा पुग्ने विश्लेषकहरू बताउँछन्। मेसीका लागि आफूलाई प्रमाणित गर्ने यो गतिलो अवसर हो। त्यसैले आइतबार राति अर्जेन्टिना बलियो जर्मनीसँग उपाधिका लागि भिड्दा मेसी पनि महानताको लडाइँमा हुनेछन्।

पेलेले ब्राजिललाई तीनपटक विश्वकपको उपाधि जिताए। म्याराडोना विश्वकपमा एकपटक विजेता र एकपटक उपविजेता बने। म्याराडोना र पेले को उत्कृष्ट भन्ने विवाद उनीहरूले खेल्न छाडेको धेरै समय बिते पनि कायमै छ। मेसी अहिले टोलीको कप्तान छन्। उनले चार गोल गरेका छन् भने हरेक खेलमा राम्रो प्रदर्शन पनि गर्दै आएका छन्।

यसअघि खेलेका दुई विश्वकपमा मेसी खासै जम्न सकेका थिएनन्। तर यसपटक उनको अवस्था बेग्लै छ। उनले हरेक खेल राम्रो खेले। तर समूहगत चरणपछि उनले गोल गर्न नसक्नु भने टोलीका लागि चिन्ताको विषय बनेको छ। यद्यपि पछिल्ला केही खेलमा उनले 'प्ले मेकर' का रूपमा गजबको प्रदर्शन गरिरहेका छन्। 'मेसी फुटबल इतिहासकै नम्बर एक खेलाडी हुन्। त्यसैले उनी विश्वकप उपाधिका हकदार पनि हुन्', सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि नेदरल्यान्ड्सका स्ट्राइकर आर्यन रोबेनले भनेका थिए।

यसैगरी अमेरिकाका गोलरक्षक टिम हवार्डले पनि मेसी वास्तविक मान्छे हुन् कि होइनन् भन्ने कुरा छोएर जान्न चाहेको बताएका थिए। ब्राजिलका स्टार स्ट्राइकर नेमार पनि मेसी विश्वकप उपाधिको हकदार भएको बताउँछन्। मेसीले राष्ट्रिय टोलीका लागि ९२ खेल खेल्दै ४२ गोल गरेका छन् भने २५ गोलमा 'एसिस्ट' गरेका छन्। यही तथ्यांकका कारण पनि मेसीलाई एउटा खेलाडीभन्दा माथिको श्रेणीमा राख्ने गरिन्छ।

मेसी पछिल्लो समय चोटका कारण पटकपटक मैदानबाहिर रहे। यसै कारण उनले क्लब फुटबलमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। यही मौकामा उनले राष्ट्रिय टोलीलाई ठूलो उपलब्धि नजिक पुर्‍याएका छन्। अब जर्मनीको बलियो मिडफिल्ड,रक्षापंक्ति र गोलरक्षणलाई पार गरेर टोलीलाई सफलता दिलाउन सक्नु मेसीका लागि ठूलो परीक्षाको घडी हो।

अर्जेन्टिनाको सफलता दक्षिणअमेरिकाकै लागि गौरवको विषय हुनेछ। दक्षिणअमेरिकामा आयोजित विश्वकपमा युरोपेली टोली हालसम्म विजेता बन्न सकेका छैनन्। दक्षिणअमेरिकामा पाँचौंपटक विश्‍वकप भइरहेको छ। यसअघि आयोजित चार संस्करणको उपाधि दक्षिणअमेरिकी टोलीले नै जितेका थिए। यो महादेशमा आयोजित पछिल्लो विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको थियो।

सन् १९७८ मा अर्जेन्टिनामै आयोजना भएको विश्वकपको फाइनलमा घरेलु टोलीले युरोपेली प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई हराएको थियो। त्यसअघि दक्षिणअमेरिकामा आयोजना भएको विश्वकपमा एकपटक मात्र युरोपेली टोली फाइनलमा पुगेको थियो सन् १९६२ मा। विश्व फुटबलका दुई चिर प्रतिद्वन्द्वी महादेश हुन् युरोप र दक्षिणअमेरिका।

हालसम्म युरोपेली टोलीले १० पटक र दक्षिणअमेरिकी टोलीले नौपटक विश्वकप जितेका छन्। युरोपबाहिर आयोजित विश्‍वकपमा युरोपेली टोलीको प्रभाव कमजोर थियो। सन् २०१० मा दक्षिणअफ्रिकामा आयोजित विश्वकप जितेर स्पेन युरोपबाहिर आयोजित विश्‍वकप जित्‍ने पहिलो युरोपेली टोली बनेको थियो। -एजेन्सी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com