डिफेन्डरद्वय कप्तान थियागो सिल्भा र डेविड लुईजले गोल गरेपछि शनिबार कोलम्बियालाई २-१ ले पन्छाउँदै आयोजक ब्राजिल १२ बर्षपछि विश्वकप फुटबलको सेमिफाइनल पुगेको छ । अब ब्राजिलले फाइनल प्रवेशको लागि जर्मनीविरुद्ध सोमबार खेल्नेछ ।
जर्मनी फ्रान्सलाई हराउँदै यसअघि नै सेमीफाइनल पुगेको थियो ।
ब्राजिल सर्बाधिक ५ पल्टको विश्वकप विजेता हो । उसले पछिल्लोपल्ट जापान र दक्षिण कोरियामा सन् २००२ मा आयोजित विश्व्कप जितेको थियो । त्यसयता ब्राजिलले पहिलोपल्ट अन्तिम चारको यात्रा तय गरेको हो । ब्राजिल सन् २००६ मा फ्रान्स र २०१० मा नेदरल्यान्ड्ससँग क्वाटरफाइनलमा हारेको थियो ।
कप्तान सिल्भाले नेयमरको कर्नरमा गोल गर्दै सातौं मिनेटमै अग्रता दिलाएका थिए ।
सिक्स यार्डबक्सबाट उनले घुँडाले प्रहार गरेको बलले पोष्टको दिशा लिएपछि ब्राजिल १-० ले अगाडि बढेको थियो । विश्वकपमा दोस्रो पहेंलो कार्ड बेहोरेकाले उनी जर्मनीविरुद्धको सेमिफाइनलमा मैदानबाहिरै हुनेछन् ।
अर्का डिफेन्डर डेविड लुईजले ६९ औं मिनेटमा दोस्रो गोल गर्दै ब्रासजलको सेमिफाइनल यात्रा निश्चित गरेका थिए । यो विश्वकपमा उनको व्यक्तिगत दोस्रो गोल हो । उनी म्यान अफ दि म्याच पनि भए । मिडफिल्डर जेम्स रोडि्रग्वेजले ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल अन्तर २-१ मा झारेका थिए ।
ब्राजिलका किपर जुलियो सिजरले फल खेल्दै उनलाई लडाएपछि रेफ्रिले कोलम्बियालाई पेनाल्टीको अवसर दिएको थियो ।
तर, पहिलोपल्ट क्वाटरफाइनल खेलेको कोलम्बियाले थप गोल गर्न सकेन र अन्तिम आठबाटै बिदाई भयो । कोलम्बियन प्लेमेकर रोडि्रग्वेजले भने राम्रै खेल पस्किए । उनी लगातार पाँचै खेलमा गोल गर्न सफल भए । उनी ६ गोलसहित सर्बाधिक गोलकर्ताको सूचिमा सबैभन्दा अगाडि छन् । उनी २००२ को विश्वकपपछि एकै संस्करणमा ५ भन्दा धेरै गोल गर्ने खेलाडी भएका छन् ।
दक्षिण अमेरिकी दुई टिमको प्रतिस्पर्धामा कोलम्बियाले सन् १९९१ यता ब्राजिललाई परािजत गर्न सकेको छैन । अनि ब्राजिल २००२ पछि घरेलु मैदानमा कुनैपनि प्रतिद्वन्द्वीसँग हारेको पनि छैन ।
खेलको अन्त्यतिर नेयमार घाइते भएर बाहिरिएका थिए । उनलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको बताइएको छ ।
एजेन्सी :