कविता "आत्मसात" By, आचार्य प्रभा


कविता "आत्मसात" By, आचार्य प्रभा 

हराएका सपनाहरु
खोज्दै यी आँखाहरु
हरपल रात साँच्न
लालायीत हुन्छन्
तर...मन भने
रातको कालो सन्नाटाभित्र
एैंठनको बाहुपाससँग
उकुस मुकुस छ ।
कस्तो,
बिपरित भोगाइेहरु ?
हो...सपना पाल्नु
आँखाको दोष हैन
रात चुक घोप्टिए झैं
निष्पट अन्धकारमा डुब्नु
नौलो नियम हैन,
तर...,
सपनालाई बिथोलेर
रात एैंठनरुपी नकाब भिर्दै
किन आँखाहरुको दुष्मन
बन्दछ ?
हो यस्तै छ
संसारको रीत,
यहाँ न सपना साकार हुन्छ
न'त रात चाँदी झैं
उज्यालोको जलप ओढेर
हाजिर हुन्छ।
र...,
भन्न मन लाग्छ
न,सपना आफ्नो हुन्छ
न,रात बिरानो हुन्छ
आखिरमा कालरात्रीको
उकुसमुकुसपनलाई
आत्मसात गर्नु नै
बाध्य हुनुपर्छ ।

आचार्य प्रभा
अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com