काठमाडौं श्रावन १२,
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरुले वीर अस्पताललाई ‘बिरामी अस्पताल’ घोषणा गरेका छन् । सुधारका चारसूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले अस्पतालको आकस्मिक कक्षको बोर्डमा ‘बिरामी’ थपेका हुन् ।
रेजिडेन्ट चिकित्सकहरू अस्पतालमा आवश्यक उपकरण तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्तरवृद्धि गर्नुपर्ने, रिक्त पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने र आवासीय चिकित्सकका लागि आवासको व्यवस्था हुनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।
आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका सिनियर डाक्टरहरूले सेवा दिएपनि अस्पतालमा बिरामीहरूको चाप बढेको छ । वीरमा दुई सय ७० आवासीय चिकित्सक छन् भने एक सय ४० सिनियर डाक्टर छन् ।
रेजिडेन्ट डाक्टर एशोसियसन अफ न्याम्सका डा.सन्तोष पौडेलले रेजिडेन्ट डाक्टरले काम गर्दैमा सेवा अवरुद्ध हुनुनपर्ने उल्लेख गर्दै आफूहरुले पढाईका लागि र बिरामीका लागि आवश्यक उपकरणको माग गरेर आन्दोलन गरेको बताए । सि–आर्म मेशिन नहुँदा अनुमानका भरमा हाडजोर्नीको उपचार गर्नुपरेको पनि उनले बताए ।
रेजिडेन्ट डाक्टरहरुले तत्काल सिटिस्क्यान, सि–आर्म, लिनिएर, एक्सिलेटर, एमआरआईजस्ता उपकरणको व्यवस्था गर्न माग गरेका छन् । न्याम्समा डिएम तथा एमसिएचसम्मको अध्ययन हुने भएपनि अस्पतालमा अत्यावश्यक उपकरण नभएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।
‘यो आन्दोलन थला परेको वीर अस्पताल सुधारका लागि हो,’ अर्का रेजिडेन्ट डा. मंगल रावलले भने ।
स्थापनाको एक सय २५ औं वर्ष पूरा गरिसक्दा पनि अस्पतालमा आवश्यक उपकरण राख्न पनि चासो नदेखाइएको उनीहरुको आरोप छ । न्याम्सको शैक्षिक गरीमा बढाउन दीक्षान्त समारोह गर्नुपर्ने पनि उनीहरुको माग छ ।(by, healthnews.com)