शैया अभावमा भुइँमै बिरामीको उपचार I

दार्चुला श्रावन ९,

जिल्ला अस्पताल दार्चुलामा बिरामीको अत्यधिक चाप बढेको छ । बर्खायाममा बिरामीको चाप बढ्दै गएपछि शैया अभावमा भुइँमा राखेर बिरामीको उपचार गराउँदै आएको छ ।

गत वर्षको असारमा महाकाली नदीमा आएको बाढीले १५ शैयाको जिल्ला अस्पताल बगाएपछि अहिले एउटा निजी घर भाडा लिएर सेवा प्रवाह गरिरहेकोे छ । बिरामीको चाप अत्यधिक बढेसँगै शैया अभाव भएपछि बिरामीलाई भुइँमा राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालकी चिकित्सक सरोजा बस्याल देवकोटाले बताए ।

अहिले दिनहुँ डेढ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालमा आउने बिरामीमा टाइफाइड, पखाला तथा भाइरल ज्वरोका बिरामी बढी रहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामेश्वर देवकोटा अध्ययन बिदामा र अर्का चिकित्सक नवीन तिवारी लोकसेवा आयोगको परीक्षा दिन गएपछि अस्पतालमा चिकित्सक देवकोटाले मात्रै सेवा प्रवाह गरिरहेकी छन् । बिरामीको चाप अत्यधिक बढेको र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको उहाँको भनाइ रहेको छ । रासस
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com